उत्तर कोरियामा शताब्दीकै ठूलो खडेरी, नागरिकको दैनिकी प्रभावित
एजेन्सी । उत्तर कोरियामा यस शताब्दीकै सबैभन्दा ठूलो खडेरी परेको छ । खडेरीका कारण कोरियाली नागरिकको दैनिकी प्रभावित भएको भन्दै यसप्रति विश्व खाद्य कार्यक्रमले गहिरो चासो व्यक्त गरेको छ । ‘उत्तर कोरियाको अवस्थाबारे हामीले गम्भीर चासो लिएका छौँ,’ विश्व खाद्य कार्यक्रमका एक अधिकारीले भने । खडेरीका कारण खाद्यान्न अभाव हुन सक्ने भएकाले यसप्रति आफूहरू संयमित भएको ती अधिकारीले बताए । उत्तर कोरियाले विगतमा गर्ने गरेका आणविक परीक्षणका कारण उसमाथि कडा खालका आर्थिक नाकाबन्दी लागेको थियो ।
नाकाबन्दीका कारण विगतमा पनि उत्तर कोरियाले खाद्यान्न संकट व्यहोरेको थियो । यसपटकको खडेरीले थप खाद्यान्न संकट पर्न सक्ने अनुमान गरिएको छ । प्राकृतिक प्रकोपका कारण अन्न उत्पादनमा पनि करिब पाँच लाख टन कमी आउने अनुमान गरिएको छ । त्यसैगरी कृषि उपजको कमी आउने र सिँचाइ प्रबन्धको कमीका कारण खाद्य उत्पादनमा समस्या उत्पन्न हुने अनुमान गरिएको छ ।
यस वर्ष उत्तर कोरियामा सन् १९१७ यताकै सबैभन्दा थोरै पानी परेको छ । यस वर्षभरमा बुधबार ५६.३ मिलिलिटर मात्र पानी परेको थियो । जुन सन् १९१७ यताकै सबैभन्दा थोरै वर्षा हो ।
खडेरीका कारण गहुँ, मकै, आलु, सिमी तथा अन्य खाद्यान्न बाली लगाउने समय पनि गुज्रिएकाले अब बिस्तारै खाद्यान्न संकटको समस्या देखिँदै जाने उत्तर कोरियाली सञ्चारमाध्यमले जनाएका छन् । उत्तर कोरियाका करिब एक करोड नागरिकले खाद्यान्न संकटको सामना गरिरहेका ती सञ्चारमाध्यमले जनाएका छन् । यस शताब्दीकै सबैभन्दा ठूलो खडेरीका कारण उत्तर कोरियाका करिब ४० प्रतिशत नागरिकले यस्तो समस्या भोगिरहेको जनाइएको छ ।
उत्तर कोरियाले विश्व समुदायप्रति तिक्तता पोखेको छ । उसले वर्षौंदेखि आफ्नो आणविक कार्यक्रमको मात्र विरोध गर्ने गरेको र आफ्नो खाद्यान्न समस्याबारे नसोचेको बताएको छ ।
२०७६ जेठ ५ गते आइतवार १९:१९ बजे प्रकाशित