"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

अमेरिकाले चिनियाँ उत्पादनमा आयात कर बढायो

एजेन्सी विविसि  ।  अमेरिकाले दुई सय बिलियन डलर बराबरका चिनियाँ उत्पादनमा लाग्ने आयात कर १० प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्‍याएको छ । यससँगै दुई देशबीचको ‘व्यापार युद्ध’ चर्कने अनुमान गरिएको छ । चीनको वाणिज्य मन्त्रालयले कर वृद्धिको पुष्टि गरेको छ । यस कदमको उपयुक्त जवाफ फर्काउने बेइजिङले जनाएको छ । चीनले सन् २०१८ मा पाँच सय ४० बिलियनभन्दा बढीका उत्पादन अमेरिका निर्यात गरेको थियो भने एक सय २० बिलियनभन्दा बढी आयात गरेको थियो ।

‘वार्ता सफल हुने आशा’

दुवै पक्षका उच्च अधिकारीहरू व्यापार द्वन्द्व कम गर्ने प्रयासमा रहेका वेला वासिंगटनले यस्तो कदम चालेको हो । पछिल्लो समय अमेरिका र चीनले महिनौँ लामो व्यापार द्वन्द्व समाप्त गर्ने सवालमा नजिक देखिएका थिए । बिहीबार पनि दुई देशका उच्च अधिकारीहरूबीच वार्ता भएको थियो । चीनको वाणिज्य मन्त्रालयले दुई देशबीचको वार्ता सफल हुनेमा अझै आशावादी रहेको जनाएको छ । ‘दुवै देशका हितलाई ध्यानमा राखेर वार्तामार्फत समाधान खोज्न अमेरिकाले सहयोग गर्ने आशा छ । तर, चीन सधैँ आफ्नै वैअधिकारको रक्षा गर्न प्रतिबद्ध र सक्षम छ,’ वाणिज्य मन्त्रालयका प्रवक्ता गाओ फेंगले निकालेको विज्ञप्तिमा भनिएको छ ।

सेयर बजारमा हलचल 

अमेरिकी राष्ट्रपति ट्रम्पले साताको सुरुवातमा कर बढाउने संकेत गरेसँगै खस्किएको चीनको सेयर बजार शुक्रबारसम्म बढेको थियो । तर, करवृद्धिको निर्णयपछि फेरि बजारमा हलचल आएको छ । अमेरिकाले गत वर्ष दुई सय बिलियन डलर बराबरका सामग्रीमा १० प्रतिशत कर लगाउने निर्णय गरेको थियो । जसमा माछा, ह्यान्डब्याग, कपडा र जुत्ताहरू थिए । यो कर यसै वर्षको सुरुवातमा बढ्ने तय थियो । तर, दुई देशबीच भएको सहमतिपछि करवृद्धि रोकिएको थियो । चीनले सहमति पालना नगरेको आरोप अमेरिकी प्रशासनले लगाउँदै आएको छ ।

असर के होला ?

अमेरिका–चीन व्यापार युद्धका कारण पछिल्लो वर्ष विश्व अर्थतन्त्रमा समस्या देखिएको थियो । जसका असर व्यापारी र उपभोक्तामा देखियो । अमेरिकी राष्ट्रपति ट्रम्पले आगामी दिनमा तीन सय २५ बिलियन बराबरका चिनियाँ सामग्रीमा २५ प्रतिशत कर लगाउने बताएका छन् । तत्कालका लागि चीनले सबैभन्दा ठूलो घाटा व्यहोर्नुपर्नेछ । यसले चिनियाँ अर्थतन्त्रको वृद्धिदरमा प्रभाव पार्ने आँकलन गरिएको छ । ट्रम्पले करवृद्धिको प्रभाव अमेरिकी अर्थतन्त्रमा सकारात्मक रहने दाबी गरेका छन् । तर, अमेरिकी कम्पनीहरू घाटामा जाने विश्लेषकको अनुमान छ । केही अनुसन्धानहरूले अमेरिकी करवृद्धिले चिनियाँ निर्यातकर्ताको दाँजोमा अमेरिकी उपभोक्तालाई धेरै घाटा पु¥याउने जनाएका छन् ।

२०७६ वैशाख २८ गते शनिवार १५:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु