चीनको बेल्ट एण्ड रोड इनिसिएटिभमा जोडियो जी-७ मुलुक इटाली

एजेन्सी । विश्वका सात ठूला अर्थतन्त्र ९जी-७ मध्येको एक इटालीले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ(बिआरआई) मा हस्ताक्षर गरेको छ।
चिनियाँ राष्ट्रपति सी चीन फिङको तीन दिने इटाली भ्रमणका क्रममा शनिबार युरोपेली शक्ति
राष्ट्र इटालीले युरोपियन युनियन र अमेरिकाको असन्तुष्टिबीच उक्त परियोजनामा हस्ताक्षर गरेको हो।
राजधानी रोममा आयोजित कार्यक्रममा राष्ट्रपति सी र इटालीका प्रधानमन्त्री गिसेपे कोन्टेले बिआरआईअन्तर्गत चिनियाँ लगानी हुने आयोजनाको समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।
बिआरआईका भन्दा अलग्गै लगानी गर्ने आयोजनामा पनि चीन र इटालीबीच सहमति भएको छ।
समझदारीसँगै चीनले इटालीमा उर्जा, वाणिज्य र कृषिका २९ परियोजनामा झन्डै ३ खर्ब रूपैयाँ लगानी गर्ने भएको छ।
विश्वका ठूला १० अर्थतन्त्रमध्येको इटाली पछिल्लो समय आर्थिक मन्दीको सामना गरिरहेको छ। उसको राष्ट्रिय ऋण पनि युरोजोनका मुलुकमा सबैभन्दा धेरैमध्येमा छ।
चीनले सन् २०१३ मा एसिया, मध्यपूर्व, अफ्रिका र युरोपलाई जल र जमिनबाट जोड्न बिआरआई अघि सारेको हो। यो परियोजनाअन्तर्गत उसले दक्षिण एसिया र पूर्वीअफ्रिकामा लगानी बढाइरहेको छ।
अमेरिकालगायत पश्चिमा केही मुलुकले भने चीनको यो परियोजनाले साना मुलुकलाई ऋणको पासोमा पार्ने भन्दै आलोचना गरेका छन्।
२०७५ चैत १० गते आइतवार १३:०८ बजे प्रकाशित