पाकिस्तान – भारत रेल सेवा फेरि सुरु भयो

एजेन्सी । भारत र पाकिस्तानबीच सिर्जना भएको तनावका कारण केही दिन अवरुद्ध भएको दुई देश बीचको रेल सेवा सोमबारदेखि फेरि सुरु भएको छ ।
दुई देशबीचको महत्वपूर्ण सेवाको रूपमा रहेको सम्झौता एक्सप्रेसको सेवा सुरु भएको अधिकारीहरूले जानकारी दिएका हुन् ।
पछिल्लो दुई देशीय तनावपछि पाकिस्तानको लाहोरदेखि भारतको नयाँ दिल्लीसम्मको रेल सेवा अवरुद्ध भएको थियो ।
ुसम्झौता एक्सप्रेसको रेल स्थानीय समय अनुसार सोमबार बहिान ११।३० बजे अत्तारी रेल स्टेशन पुगेको थियोु, एक जना भारतीय अधिकारीले बताए ।
पाकिस्तानी सञ्चार माध्यमहरुले पाकिस्तानको लाहोरबाट भारततर्फ प्रस्थान गरेको त्यस रेलमा १५० जना यात्रु रहेको सोमबार जनाएका छन् ।
भारत प्रशासित कश्मीरको पुलवामामा फेब्रुअरी १४ मा भएको आतंकवादी हमलामा ४० जना भारतीय सुरक्षाकर्मी मारिएपछि दुई देशबीच तनाव बढेसँगै रेल सेवा अवरुद्ध भएको थियो ।
सामान्यतया सोमबार र बिहीबार दुई देशबीचमा रेल सेवा सञ्चालन हुँदै आएको थियो । पाकिस्तानको विदेश मन्त्रालयले गएको फेब्रुअरी २८ मा दुईदेशीय रेल सेवा सञ्चालन नगर्ने घोषणा गरेको थियो ।
तर भारतको राजधानी नयाँदिल्लीदेखि पाकिस्तानको पञ्जाब प्रदेशको राजधानी लाहोरसम्मको अन्तरदेशीय बस सेवा भने रोकिएको थिएन ।
२०७५ फागुन २१ गते मंगलवार १४:०१ बजे प्रकाशित