"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

अस्पतालमा बेड र अक्सिजन छैन, होम आइसोलेसनमै निधन

बुटवल, बुटवल प्रादेशिक अस्पतालको फिबर क्लिनिकको बाहिर एक महिला टाउकोमा हात राखेर भक्कानिँदै रुन्छिन् तर उनको रुवाई सुन्ने कोही छैन । कपिलवस्तुबाट ४० वर्षका श्रीमानलाई उपचारका लागि ल्याएकी उनले अक्सिजन अभावमा श्रीमान् गुमाइन् । श्रीमानको शव घर लैजान पाए हुन्थ्यो भन्छिन् उनी तर उनको पीडा कसले बुझिदिने ?

कपिलवस्तुबाट बुटवलसम्म ल्याएर बल्ल बल्ल फिबर क्लिनिकमा उनका श्रीमानलाई राखिएको थियो । लुम्बिनी अस्पतालको इमर्जेन्सी कक्षलाई हाल फिबर क्लिनिक बनाइएको छ । त्यहीँ उनका श्रीमान्ले प्राण त्याग गरेका थिए ।

बुटवलको कोरोना अस्पताल र फिबर क्लिनिकमा गरी १२५ जना बिरामीको उपचार भइरहेको छ । तर सबै बेड भरिएपछि अस्पतालले भर्नाका लागि सोर्सफोर्स नलगाउन आग्रह गर्दै सूचनापाटीमा सूचना टाँसेको छ ।

भर्ना भएका केही बिरामीले आफै अक्सिजनको जोहो गर्ने गरेका छन् । तर कतिपयले अक्सिजन पाउन सकेका छैनन् । रुपन्देही तिलोत्तमा नगरपालिका–१९का एक बिरामीले बल्लतल्ल अक्सिजन पाएर आफ्नो उपचार हुँदै गरेको बताए । ती बिरामीका छोराले भने, ‘उपचार पाउन निकै कठिन रहेछ । पहिला त बेड नै खाली थिएन । बल्ल तल्ल एउटा बेड खाली भएपछि भर्ना गरियो, त्यसमा पनि अस्पतालसँग अक्सिजन छैन ।’

आफैले अक्सिजन जोहो गरेर ल्याएपछि जसोतसो उपचार हुन थालेको उनले सुनाए ।

अस्पतालमा आउने सबैजसोको नियति यस्तै छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अक्सिजनको अभाव भएपछि बिरामी र तिनका आफन्त आत्तिएका छन् । अक्सिजन र उपचारको अभावमा मृत्यु हुनेहरुको संख्या उल्लेख्य पाइन्छ ।

अस्पतालले सञ्चालन गरेको कोरोना विशेष अस्पतालको आईसियु कक्ष र फिबर क्लिनिकभित्र कोरोनाका बिरामी भरिभराउ छन् । स्वास्थ्यकर्मी, डाक्टरहरु आफ्नो क्षमताले भ्याएसम्म उपचारमा खटिएका छन् । तर गम्भीर समस्या भएका बिरामीका लागि आवश्यक अक्सिजनको अभावले उपचार सेवा नै प्रभावित हुन थालेको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका कोरोना फोकल पर्सन डा. नन्दु पाठकले प्रादेशिक अस्पतालमा कोरोना संक्रमित बिरामीको चाप बढ्दै गएको र अहिले करिब ४ सय अक्सिजन सिलिन्डरको आवश्यकता रहेको बताए ।

अस्पतालमा अहिले अढाई सयदेखि ३ सय सिलिन्डरमात्र उपलब्ध छ । उनले भने, ‘हामी धान्न नसकिने अवस्थामा छौं, कोरोना संक्रमित थपिँदै गएका छन्, अहिले अस्पतालको फिबर क्लिनिकमा राखेर बिरामीलाई उपचार गरिरहेका छौं ।’

लुम्बिनी प्रादेशिक अस्पतालका सुपरिटेन्डेन्ट डा. राजेन्द्रप्रसाद खनाल अक्सिजन सिलिण्डरको अभावले बिरामीको उपचारमा समस्या भएको बताउँछन् । उनले अस्पतालको अवस्थालाई फेसबुकमा चित्रण गर्दै लेखेका छन्, ‘फेरि उही कुरा, मध्यरातमा डा. नन्दु र डा. राजेन्द्रको काम अक्सिजन खोज्ने भएपछि हालत के होला ! बिरामीहरुको अवस्थालाई टुलुटुलु हेरेर नर्स र डाक्टरले केही गर्न नसकिने यो कस्तो विवशता ! अब त एकोहोरो टोलाउनमात्र बाँकी छ ।’

अस्पतालमा कम्तीमा दैनिक ४००–५०० सिलिन्डर अक्सिजनको आपूर्ति भए केही सहज हुने उनको भनाइ छ ।

होम आइसोलेसनमा बस्नेलाई पनि उस्तै समस्या

रुपन्देहीमा हाल ६ हजार २६६ जना संक्रमित छन् । तीमध्ये विभिन्न अस्पतालमा २६६ जनाको उपचार भइरहेको छ । बाँकी ६ हजार जना घरमै होम आइसोलेसनमा छन् । रुपन्देही स्वास्थ्य कार्यालय प्रमुख डा राजेन्द्र गिरीले कोभिड संक्रमण भएका सबै बिरामी अस्पतालमा आउन नपर्ने तर गम्भीर समस्या भएमा स्थानीय स्वास्थ्य संयोजकलाई सम्पर्क गरेर अस्पताल आउन आग्रह गरे ।

तर होम आइसोलेसनमा बसेकाहरुको अवस्था पनि सहज नरहेको उनी बताउँछन् ।

बुटवल उपमहानगरपालिका–७ का वडा सदस्य नवीन थापा मगरको अस्पतालमा शय्या खोज्दाखोज्दै एम्बुलेन्समै मृत्यु भएको छ । ४४ वर्षीय थापा ७ दिनअघि कोरोना पोजेटिभ भएपनि बेड अभावका कारण होम आइसोलेसनमा थिए । घरमै अक्सिजन लिएर उपचार गराइरहेका बेला स्वास्थ्यमा समस्या देखिएपछि भैरहवामा अस्पताल लैजान खोज्दा एम्बुलेन्समै उनको मृत्यु भएको वडाध्यक्ष कमल प्रताप थापाले बताए ।

यसअघि बुटवलमा एकजना वडा सचिवको पनि यसैगरी ज्यान गएको थियो ।

होम आइसोलेसनमा बसेकाहरुले अस्पताल जानुपर्ने अवस्थामा भर्ना पाइरहेका छैनन् भने मृत्यु भएकाहरुको शवसमेत दुई दिनसम्म उठ्न नसकेको गुनासो गरिरहेका छन् । बुटवल–११ का नेत्र भट्टराईका अनुसार उनकी छिमेकी ४८ वर्षीय महिलाको होम आइसोलेसनमा मृत्यु भएको दुई दिनपछि मात्र शव व्यवस्थापनका लागि नगरपालिकाले शव वाहन पठाएको थियो ।

आफुलेसमेत बुटवलका मेयर, स्वास्थ्य संयोजकलाई पटक पटक फोन गरेको र दुईदिन पछि बल्ल शव वाहन आएको उनले रातोपाटीलाई बताए । ‘शव व्यवस्थापन गर्न त यति ढिलो हुन्छ भने कोरोना संक्रमितले अरु के अपेक्षा गर्ने ?’ उनले भने ।

प्रदेशका स्वास्थ्यमन्त्री फेरिएको फेरियै, संक्रमितका समस्या उस्तै

लुम्बिनी प्रदेशको अस्थायी मुकाम रुपन्देहीका अस्पतालमा अक्सिजनको चरम अभाव भए पनि प्रदेश सरकार सत्ता जोगाउने कसरतमा सीमित छ । संक्रमितले अस्पतालमा बेड र अक्सिजन नपाएर सडकपेटीमा मृत्युवरण गर्नु परिरहेको अवस्थामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले एक महिनामा ४ वटा स्वास्थ्यमन्त्री फेरेका छन् ।

वैशाख ६ गतेसम्म प्रदेशको सामाजिक विकास मन्त्रीका रूपमा सुदर्शन बराल थिए । सोही दिन मन्त्रालय टुक्राएर लीला गिरी स्वास्थ्यमन्त्री भए । वैशाख १९ गते स्वास्थ्यमन्त्रीका रूपमा हरि रिजालले सपथ लिए । उनले कार्यभार सम्हाल्न नपाउँदै वैशाख २१ गते भोजप्रसाद श्रेष्ठलाई उक्त मन्त्रालयको जिम्मा दिइएको छ ।

शुल्कमा पनि मनोमानी

लुम्बिनी प्रादेशिक अस्पतालमा सरकारले तोकेभन्दा धेरै शुल्क लिएको पाइएको छ । सरकारले पीसीआर परीक्षण गर्दा १ हजार रुपैयाँ शुल्क निर्धारण गरे पनि अहिले यहाँ २ हजार रुपैयाँ लिने गरिएको छ ।

निजी क्षेत्रका अस्पतालले दुई हजार रुपैयाँ लिँदै आएकोमा लुम्बिनी प्रदेश अस्पतालले पनि दुई हजार शुल्क नै लिने गरेको हो । अस्पताल विकास समितिका अध्यक्ष सुर्यबहादुर भट्टराईसँग पिसिआर शुल्कबारे बुझ्न पटक पटक फोन सम्पर्कको प्रयास गरिए पनि उनी सम्पर्कमा आउन चाहेनन् ।

२०७८ वैशाख २६ गते आइतवार १३:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु