सिन्धुपाल्चोमा सय भन्दा बढीलाई रुघा र ज्वरो, कोरोनाको आशंका
काठमाडौं। सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३ गुम्बागाउँका १०० भन्दा बढी स्थानीय बिरामी परेका छन् । गुम्बा बस्तीका स्थानीयमा कोरोना भाइरसको लक्षणसँग मेल खाने संकेत देखिएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताए ।
बिरामीको संख्या बढेको र अवस्था गम्भीर बन्दै गएपछि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विकले विशेष टोली खटाइदिन जिल्ला स्वास्थ्य कार्यालय, सिन्धुपाल्चोक र वाग्मती प्रदेश सरकारलाई पत्र लेखेका छन् । त्यस्तै, संघीय सरकारसँग पनि विशेषज्ञ चिकित्सक पठाइदिन अनुरोध गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
माघ २३ गतेदेखि केही व्यक्तिमा रुघा र उच्च ज्वरो देखा परेको र उक्त संख्या मंगलबार बढेर १०० नाघेको श्रेष्ठले बताए । फोनमा कुरा गर्दै उनले भने, २३ गतेदेखि केही व्यक्तिमा ज्वरो र रुघाखोकी देखिएको थियो । उक्त संख्या मंगलबार बढेर सय नाघ्यो । अवस्था पनि गम्भीर बन्यो त्यसैले हामीले पत्र लेखेका हौं ।
२०७६ माघ २९ गते बुधवार १०:३५ बजे प्रकाशित