बजार अनुगमन : मेडिकलहरुमा एक हप्तादेखि यहाँ मास्क छैन’ भन्ने बोर्ड
भक्तपुर । भक्तपुर नगरपालिका–१ च्यामासिंहस्थित साँचो फार्मेसीले ‘यहाँ मास्क छैन’ भन्ने बोर्ड नै टाँसेको छ । त्यहाँ मात्रै होइन, यहाँकै च्यामासिंह मेडिकल, आरती फर्मालगायत यहाँका अधिकांश औषधि पसल तथा क्लिनिकले त्यस्ता बोर्ड झुण्डाएका छन् ।
औषधि पसलमा दैनिक १०० भन्दा बढी मानिस मास्क र ह्यान्ड सेनिटाइजर खोज्न आउने तर छैन भन्दाभन्दा हैरान भएपछि बोर्ड नै टाँस्नुपरेको साँचो फार्मेसीका सञ्चालक चन्द्र प्रजापति बताउछन् । मास्क हुँदा रु १० सम्म बिक्री गरेको तर एक सातादेखि नआएपछि बिक्री गर्न नपाएको र अहिले १०० भन्दा बढी मानिस मास्क खोज्न आउने गरेको उनले जानकारी दिए ।
आरती फर्माका सञ्चालक सुविन श्रेष्ठले दुई सातादेखि मास्क बिक्री गर्न नपाएको बताउछन् । “कपडाको मास्क बिक्री गर्न राखे पनि कसैले लैजाँदैन, एक बट्टामा ५० थान मास्क हुन्छ, अहिले डिलरले नै मास्क छैन भनेर नपठाएपछि बिक्री गर्न नपाएको दुई साता भयो”, उनले भने ।
औषधि व्यापारी पनि डिलरले औषधि कम पठाउन थालेको बताउँछन् । भक्तपुरमा औषधि व्यवसाय सञ्चालन गर्दै आउनुभएका रामकुमार थापाले डिलर र उत्पादकले नै औषधि कम पठाउन थालेपछि औषधिमा समेत कालो बजारी बढ्न थालेको बताउछन् ।
जिल्ला अहिलेसम्म बजार अनुगमन नहुँदा केही औषधि व्यापारीले एक/दुई महिना मात्रै म्याद रहेका औषधि र कतिपय म्याद गुज्रेका औषधिसमेत बिक्री गर्न थालेको उपभोक्ता गुनासो गर्छन् । उपभोक्ता सचेत नहुँदा अझै पनि अन्तिम मिति हेरेर औषधि नलैजाने गरेकाले उपभोक्ता सजिलै ठगिने क्रम पनि बढेको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि बजारअनुगमन गर्ने बताउछन् ।
२०७६ फागुन २५ गते आइतवार १०:३२ बजे प्रकाशित