लुम्बिनी प्रादेशिक अस्पतालमा प्रसूतिगृह बन्दै
बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा प्रसूतिसेवा सहज बनाउन नयाँ भवन निर्माण हुने भएको छ । प्रसूतिसेवालाई सुविधासम्पन्न बनाउन २६ करोड ५१ लाख ७५ हजार लागतमा प्रसूति गृह, नर्सिङ क्वाटर र मर्मत भवन निर्माण हुने भएको हो ।
संघीय आयोजना कार्यान्वयन इकाइ कार्यालय रुपन्देहीका आयोजना प्रमुख राजेन्द्रप्रसाद पाण्डेले भवन दुई वर्षभित्रमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको बताए । उनले भवन निर्माणका लागि सम्झौता भइसकेको र समयमा निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरे ।
आयोजना प्रमुख पाण्डेका अनुसार प्रसूति गृह ४ तलाको बन्नेछ । सो भवनमा दुई सय ५० बेड क्षमता हुनेछ । त्यस्तै, दुई तलाको नर्सिङ क्वाटर बनाउने सम्झौता छ । उनका अनुसार दुई तलाको नर्सिङ क्वाटरमा १६ परिवार बस्न मिल्ने गरी बनाइनेछ । त्यस्तै, मर्मत भवन हाल एक तलाको बनाउने गरी काम अगाडि बढाइएको र पछि थप दुई तला विस्तार गर्न सकिनेछ ।
१० बेडको क्षमता, ४५ सुत्केरीलाई सेवा
अस्पतालले अहिले १० बेडको प्रसूति कक्षबाट सेवा दिँदै आएको छ । तर, सोही क्षमताबाट दैनिक सरदर ४० देखि ४५ जनालाई सुत्केरी गराउनुपर्ने बाध्यता रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कृष्ण खनालले बताए । अस्पतालमा दक्ष जनशक्ति भए पनि प्रसूतिसेवा सहज सञ्चालन गर्न बेड अभावमा असहज रहेको अवस्थामा भवन बन्न लागेको बताए । डाक्टर खनालले गुणस्तरीयसेवा विस्तार गर्न अस्पताल लागि पर्दै आएको बताए । त्यस्तै, प्रसूतिसेवा विभागका प्रमुख डाक्टर श्रीधर आचार्यले प्रसूतिसेवा दिन धेरै समस्या रहेको र भवन बनेपछि गरिब वर्गका महिलाहरूलाई सेवा दिन सहज हुने विश्वास व्यक्त गरे ।
अस्पतालहरू सुधार गर्न सरकारले ध्यान दिन्छ स् मन्त्री बराल
प्रसूति भवनको शिलान्यास गर्दै प्रदेशका सामाजिक विकासमन्त्री सुर्दशन बरालले मन्त्रालयले अस्पतालहरूको भौतिक सुधारदेखि गुणस्तर वृद्धिमा ध्यान दिएको बताए । उनले अस्पतालहरूमा गुणस्तर सुधार गर्नु चुनौतीपूर्ण रहेको र आगामी वर्ष गुणस्तर सुधार गर्ने गरी काम अगाडि बढाइने बताए । उनले प्रदेशका अस्पतालहरूमा जनशक्तिको व्यवस्थापनदेखि उपकरणको व्यवस्था गर्न प्रदेश सरकारले ध्यान दिने पनि बताए ।
– नयाँ पत्रिकाबाट
२०७५ फागुन २६ गते आइतवार १२:१० बजे प्रकाशित