काठमाडौँ विश्वका सबैभन्दा प्रदूषित सहरहरुको १ सयौँ सूचीमा
विश्वका शीर्ष १० प्रदूषित सहरमध्ये ७ भारतमा
काठमाडौँ, एजेन्सी । राजधानी काठमाडौँ विश्वका सबैभन्दा प्रदूषित सहरहरुको सूचीमा १ सयौँ स्थानमा परेको छ ।
ग्रीनपिस र एयरभिजुअलले जारी गरेको नयाँ प्रतिवदेनमा काठमाडौँलाई चीनको राजधानी बेइजिङभन्दा पनि प्रदूषित रहेको उल्लेख गरिएको हो । बेइजिङ उक्त सूचीको १ सय २२ औँ स्थानमा रहेको छ ।
यता, शीर्ष १० स्थानमध्ये ७ वटा स्थान भारतीय सहरहरु ओगटेका छन् । यसअघि, प्रदूषित भनिएका चिनियाँ सहरहरुको प्रदूषणमा भने उल्लेख्य सुधार देखिएको छ ।
प्रतिवेदनमा नयाँ दिल्ली नजिकै रहेको गुरगावँलाई विश्वकै सबैभन्दा प्रदूषित सहर बताइएको छ । सन् २०१८ मा त्यहाँको औसत एयर क्वालिटी इन्डेक्स १३५।८ रहेको थियो जुन युएस इन्भाइरोमेन्टल प्रोटेक्सन एजेन्सीले ‘स्वस्थ’ मानेको मापदण्डभन्दा तीन गुणा बढी हो ।
वायु प्रदूषणको समस्या सबैभन्दा बढी दक्षिण एसियामा देखिएको छ । शीर्ष २० प्रदूषित सहरमध्ये १८ वटा सहर भारत, पाकिस्तान र बंगलादेशमा रहेका छन् जसमा लाहोर, दिल्ली र ढाका जस्ता सहरहरु रहेका छन् ।
शीर्ष १० मा दोस्रोबाट क्रमशः भारतको गाजियाबाद, पाकिस्तानको फैसलाबाद, भारतको फरिदाबाद, भिवाडी, नोयडा, पटना, चीनको होतान, भारतको लखनउ र पाकिस्तानको लाहोर रहेका छन् । दिल्ली यो सूचीमा ११ औँ स्थानमा रहेको छ ।
रिपोर्टमा वायु प्रदूषणका कारण विश्वभर अर्को वर्ष ७० लाख मानिसले अकालमा नै ज्यान गुमाउन बाध्य हुने प्रक्षेपण गरिएको छ भने यसले आर्थिकरुपमा पनि ठूलो प्रभाव पार्ने उल्लेख गरिएको छ ।
ग्रीनपिस दक्षिणपूर्वी एसियाका कार्यकारी निर्देशन येब सानो वायु प्रदुषणले हाम्रो भविष्य लुट्दै गइरहेको बताउँछन् । ‘वायु प्रदुषणका कारण मानिसले अकालमै ज्यान गुमाउनु परिरहेको छ भने भविष्यमा यसका कारण स्वास्थ्य लगायत क्षेत्रमा अर्बौं डलर खर्च हुनेछ । यसले स्वास्थ्य र हाम्रो खर्चमा ठूलो प्रभाव पार्छ,’ उनले भने ।
कुनै बेला वायु प्रदुषणको ‘उदाहरण’ बन्ने गरेको चीनले भने यस मामिलामा व्यापक सुधार गरेको पाइएको छ । चीनका सहरहरुमा सन् २०१७ को तुलनामा सन् २०१८ मा प्रदूषणको मात्रा १२ प्रतिशतले घटेको पाइएको छ ।
बेइजिङ शीर्ष १०० प्रदूषित सहरको सूचीबाट बाहिरिएको छ भने अन्य सहरहरुमा पनि यसमा सुधारका कदमहरु चालिएका छन् ।
चीनमा वायुप्रदूषणको अवस्थामा सुधार भइरहँदा इन्डोनेसिया, दक्षिण कोरिया, भियतनाम र थाइल्याण्डमा भने वायु प्रदूषणको मात्रा बढेको पाइएको छ ।
–सिएनएन
२०७५ फागुन २१ गते मंगलवार १२:२८ बजे प्रकाशित