"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

पूर्वीनाका काँकडभिट्टाबाट १५ अर्बको चिया, अलैँची र अदुवा निर्यात

झापा । पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष ०८०/८१ मा रु. १५ अर्ब ३३ करोड १७ लाख ५३ हजार मूल्यबराबरको अलैँची, चिया, अदुवा र अम्रिसो भारत निर्यात भएको छ । उक्त अवधिमा  रु. १८ अर्ब ९५ करोड ७८ लाख ८५ हजारबराबरको कृषिजन्य वस्तु भारत निर्यात भएको छ ।

आर्थिक वर्ष ०८०/८१ मा  काँकडभिट्टाबाट रु. ६ अर्ब ९८ करोड ८८ लाख मूल्यको जैविक चिया भारत निर्यात भएको क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर यादवले बताए । यो नाकाबाट सबैभन्दा धेरै अलैँची, चिया, अदुवा र अम्रिसो निर्यात भएको छ । सोही अवधिमा ११ हजार ६४८ मेट्रिक टन चिया निर्यात भएको छ ।

आर्थिक वर्ष ०८०/८१ मा यही नाका भएर रु. ६ अर्ब ५२ करोड १७ लाख मूल्यबराबरको चार हजार ५१० मेट्रिक टन अलैँची भारत निर्यात भएको छ । सूचना अधिकारी यादवका अनुसार उक्त अवधिमा रु. एक अर्ब २४ करोड आठ लाख ५० हजार मूल्यबराबरको नौ हजार ५४५ मेट्रिक टन अम्रिसो भारत निर्यात भएको छ ।

पहाड र तराईमा उत्पादन हुने अदुवा ठूलो परिमाणमा निर्यात हुने कृषिवस्तुमध्ये एक हो । आव ०८०/८१ मा काँकडभिट्टाबाट रु. ५८ करोड चार लाख तीन हजारको अदुवा निर्यात भएको सूचना अधिकारी यादवले जानकारी दिए ।

२०८१ साउन १० गते बिहीवार १७:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु