चार महिनामा १२ अर्ब ५० करोड बराबरको बिजुली भारत निर्यात
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको चार महिनामा रु १२ अर्ब ५० करोड बराबरको बिजुली भारत निर्यात गरेको छ । प्राधिकरणले सो अवधिमा एक अर्ब ३६ करोड १२ लाख युनिट विद्युत् निर्यात गरी रु १२ अर्ब ५० करोड ८ लाख बराबरको रकम आर्जन गरेको छ ।
विद्युत् निर्यात गत आव २०७९/८० को सोही अवधिको तुलनामा रु चार अर्ब ८६ करोड ४४ लाखले बढी हो । गत आवको पहिलो चार महिनामा ९८ करोड ३८ लाख युनिट विद्युत् निर्यात गरी रु सात अर्ब ६३ करोड ६४ लाख आर्जन गरिएको थियो ।
प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यसवर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो । गत जेठदेखि कात्तिकसम्ममा एक अर्ब ६२ करोड १६ लाख युनिट विद्युत् निर्यात गरी रु १४ अर्ब ५० करोड २१ लाख आर्जन भएको छ ।
२०८० मंसिर ७ गते बिहीवार १७:५४ बजे प्रकाशित