१ वर्षभित्र पाइपलाइनबाट पेट्रोल ल्याउने गरी अम्लेखगञ्ज डिपोमा काम सुरु

बारा । एक वर्षभित्र पाइपलाइनबाट पेट्रोल आयात गर्ने गरी नेपाल आयल निगम अम्लेखगञ्ज डिपोले मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको दोस्रो चरणको काम सुरु भएको छ । यही वर्षको डिसेम्बरभित्र निर्माण सम्पन्न गरेर सन् २०२४ को जनवरीदेखि पाइपलाइनबाट पेट्रोल ल्याउने गरी परियोजनाको काम अगाडी बढाइएको निगमका प्रादेशिक डिपो प्रमुख प्रदीप यादवले जनाएका छन् ।
पाइपलाइनको दोस्रो चरणको परियोजना अन्तर्गत ४१ लाख लिटरको क्षमता भएको २ वटा पेट्रोल ट्याङ्की , २ लाख ५० हजार लिटर क्षमताको २ वटा ट्रान्समिक्स ट्याङ्की, २४ वटा पम्प हाउस,अत्याधुनिक प्रयोगशाला, फायरफाइट सिस्टमको स्तरोन्नति र पिएमसिसी रुम तयार हुनेछ । सो परियोजना निर्माणका लागि नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनले संयुक्त रूपमा लगानी गर्ने समझदारी भएको छ । अम्लेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइनको पहिलो चरणको काम सम्पन्न भएर २०७६ भदौदेखि पाइपलाइनबाट डिजेल मात्रै आयात हुँदै आएको थियो ।
२०७९ माघ १२ गते बिहीवार १९:५४ बजे प्रकाशित