अर्थतन्त्रका समस्या पहिचानकै क्रममा छु, चाँडै समाधानका कार्यक्रम लिएर आउँछु : अर्थमन्त्री पौडेल
काठमाडौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार अहिले अर्थतन्त्रका समस्या पहिचानकै क्रममा रहेको र चाँडै समाधानका ठोस योजना लिएर आउने बताउनुभएको छ ।
नेपाल चेम्बर अफ कमर्सले आज काठमाडौँमा आयोजना गरेको ‘अर्थतन्त्र : अबको बाटो’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले यसअघिसमेत नेपालले ठूलाठूला समस्या भोगेको भए पनि अर्थतन्त्रमा अहिलेको जस्तो सङ्कुचन नदेखिएको बताउनुभयो ।
“नेपालले यसअघि धेरै प्रहार सहन गरेको छ । भूकम्पको प्रहारलगत्तै नाकाबन्दीको प्रहार नेपालले भोगेको छ । कोभिड महामारीका बेला पनि अर्थतन्त्र जेनतेन धान्यो”, अर्थमन्त्री पौडेलले भन्नुभयो, “अहिले कोभिड, भूकम्प, नाकाबन्दी छैन । तर हामी आर्थिकरूपमा चिन्ताजनक अवस्थामा कसरी पुगियो भन्ने जबर्जस्त प्रश्न देखिएको छ ।”
भूकम्प र नाकाबन्दीमा समेत धेरै नखुम्चिएको नेपालको अर्थतन्त्र अहिले के कारणले धर्मराएको हो भनेर समस्या पहिचान भइरहेको उहाँको भनाइ छ । अर्थतन्त्रमा देखिएका समस्याका कारणको सूक्ष्म विश्लेषण गर्दै समाधानका लागि आफू लागिरहेको पनि पौडेलले बताउनुभयो ।
“अर्थतन्त्रलाई सूक्ष्म ढङ्गले हेरेर समस्या पहिचानकै क्रममा छु । समस्या कसरी देखियो भन्ने प्रश्नको जवाफ नखोजिकन हामी यसलाई समाधान गर्न सक्दैनौँ । त्यसकारण म सार्थक र निर्णायक समाधान खोज्ने क्रममा छु”, अर्थमन्त्री पौडेलले भन्नुभयो ।
अहिले सरकारको राजस्व परिचालन र पूँजीगत खर्च चिन्ताजनक अवस्थामा रहेको बताउँदै उहाँले करको दायरा बढाउने, कर प्रशासन चुस्त बनाउने र खपत बढाउनका लागि सरकारले काम गर्ने बताउनुभयो । त्यस्तै, पूँजीगत खर्चलाई कसरी बढाउन सकिन्छ भनी सरकारले काम गरिरहेको उहाँको भनाइ थियो । नयाँ सरकार बनेपछि मन्त्रिपरिषद्को पहिलो बैठकबाटै सार्वजनिक खर्च कटौतीको निर्णय गरेको उल्लेख गर्दै उहाँले मितव्ययी र आर्थिक अनुशासन पालनाका लागि सरकार प्रतिबद्ध रहेकोसमेत बताउनुभयो ।
२०७९ माघ ४ गते बुधवार १९:३८ बजे प्रकाशित