मौद्रिक नीति २०७९ : घर जग्गाको धितो राखेर लिने कर्जामा कडाइ

काठमाडौं । के तपाइँले घर जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने योजना हुनुहुन्छ ? हुनुहुन्छ भने अब तपाइँले आवश्यकता अनुसारको कर्जा पाउनु हुने छैन । घरजग्गामा हुने लगानीलाई अनुत्पादक क्षेत्रको लगानीका रुपमा चित्रण गर्दै त्यसमा हुने लगानीलाई न्यूनीकरण गर्न खोजिएको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिले घरजग्गामा हुने कर्जा लगानीलाई कम गर्न खोजेको छ । नयाँ व्यवस्थाअनुसार काठमाडौँ उपत्यकामा घरजग्गाको धितो राखेर बढीमा ३० प्रतिशत मात्रै कर्जा पाइने छ । काठमाडौँ उपत्यकाबाहिर भने ४० प्रतिशतसम्म मात्रै कर्जा पाइनेछ ।
मौद्रिक नीतिमा भनिएको छ, “बैंक तथा वित्तीय संस्थाले घररजग्गा धितो राखी निश्चित प्रयोजन नखुलेका नयाँ अधिविकर्ष कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा प्रवाह गर्दा कर्जा र सोको धितो सुरक्षणको फेयर मार्केट भ्याल्यु बीचको अनुपात काठमाडौँ उपत्यकाभित्र बढीमा ३० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ४० प्रतिशतसम्म कायम गर्नुपर्ने व्यवस्था गरिनेछ ।”
२०७९ साउन ६ गते शुक्रवार १९:५२ बजे प्रकाशित