"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

मल अभावले झापाको केराखेती सङ्कटमा

झापा । यहाँ केराखेती गर्दै आएका किसानले रासायनिक मल अभावका कारण सङ्कट आएको बताएका छन् । यसबाट केराको उत्पादन घट्नाका साथै खेती खुम्चिन थालेको छ ।

विगतमा ५० बिघा जमिनमा केराको खेती गरेका कनकाई नगरपालिका–३ का बेनु पराजुलीले आम्दानी सोचेभन्दा कम भएपछि यसपाली ३० बिघाको केराखेती मासेको बताउनुभयो । सुरुमा ‘केरा जोन’ बनाउने उद्देश्यले खेती सुरु गरे पनि मल अभाव र लकडाउनका कारण केराखेतीबाट ठूलो घाटा व्यहोर्नु परेको उहाँको भनाइ छ ।

विगतमा पकेट, ब्लक क्षेत्र घोषणा गरेर सरकारी अनुदान लिएका किसानले पछिल्लो समय भाडामा लिएको जग्गासमेत जग्गा धनीलाई नै फर्काउँदै केराको खेती घटाउन थालेका छन् । विगतमा जिल्लाको कनकाई–५, शिवसताक्षी नगरपालिका–७, बाह्रदशी गाउँपालिका–६ र झापा गाउँपालिका–७ मा दुर्गामाता तथा कोलाखेती कृषि फार्मले ४०० बिघा जमिनमा व्यावसायिक केराको खेती गर्दै आएका थिए ।

किसानहरु बेनु पराजुली, हिमदल पराजुली, कुलप्रसाद चिमरिया, लक्ष्मी चिमरिया र गणेश सङ्ग्रौलाले संयुक्तरुपमा फार्म सञ्चालन गर्नुभएको थियो । उनीहरुले स्थानीय किसानको जग्गा पाँच वर्षका लागि भागमा लिएर सामूहिक केराखेती सुरु गरे पनि तीन वर्षमै लगानीसमेत उठ्न नसकेपछि जग्गा फिर्ता गर्दै केरा खेती मास्न थालेका हुन् ।

केराखेती गर्ने यहाँको सबैभन्दा ठूलो फार्मका रुपमा परिचित दुर्गामाता तथा कोलाखेती कृषि फार्मले यसपाली लगभग १०० बिघा जग्गाको केराखेती मासेको छ । खेतीमा चाहिएका बेला रासायनिक मल नपाइने भएको हुँदा उत्पादनमा ह्रास आउने गरेको फार्मका अध्यक्ष लक्ष्मी चिमरियाले बताउनुभयो ।

वर्षमा केरालाई तीन पटकसम्म मल लगाउनुपर्ने जनाउँदै उहाँले गत वर्ष एकपटकसमेत मल लगाउन नपाउँदा उत्पादनमा ह्रास आएको गुनासो गर्नुभयो । केराखेती गर्नका लागि युरिया, डिएपी, पोटास र फस्फोरस मलको आवश्यकता पर्दछ ।

२०७९ वैशाख ३ गते शनिवार १९:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु