भारत र बङ्गलादेशमा विद्युत् बेच्नेबारे गम्भीर छलफल भइरहेको छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषा जिल्लाको ढल्केवरस्थित देशको सबैभन्दा ठूलो क्षमताको विद्युत् सबस्टेशनको आज उद्घाटन गर्नुभएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी तथा विश्व बैंकको सहुलियतपूर्ण ऋणमा निर्मित सबस्टेशन ४००,२२० र १३२ केभी क्षमताको छ ।
नेपालमा विद्युत्को एक शताब्दीभन्दा पुरानो इतिहास र विसं १९६७ मा फर्पिmङ विद्युत्गृह निर्माणपछि अहिले प्रथम पटक ४०० केभी सबस्टेशन निर्माण सम्पन्न भई ढल्केवर–मुजफ्फरपुर लाइनसहित ४०० केभी सञ्चालनमा आएको हो । सङ्घीय सरकारको राष्ट्रिय विद्युत् विकास दशक कार्यक्रमअन्तर्गत निर्माण भएको जिआइएस प्रविधियुक्त सो सबस्टेशनमा हाल ३१५ एमभीएका तीन थान, ४०० र २२० केभी ट्रान्सफर्मर तथा ८० एमभीए क्षमताको एक थान, ४०० केभी रियाक्टर जडित छ जसबाट करिब ९०० मेगावाट विद्युत् आदानप्रदान गर्न सकिन्छ ।
सो अवसरमा प्रधानमन्त्री ओलीले देशको सबैभन्दा ठूलो क्षमताको सबस्टेशन निर्माणमा सफलताको टुङ्गोले देशलाई झलमल्ल पार्न सकिने दृष्टान्त प्रस्तुत गरेको बताए । “अब जति बिजुली चाहियो त्यसको आधार निर्माण भएको छ”, उनले भने । पाँच वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै प्रधानमन्त्री ओलीले ढल्केवर–मुजफ्फरपुर र अरूण तेस्रो जलविद्युत् परियोजनाको शुभारम्भ गरेका थिए । प्रधानमन्त्री ओलीले नेपालले आगामी दिनमा भारत र बङ्गलादेशमा विद्युत् बेच्ने पूर्वाधार तयार भएको जनाउँदै विद्युत् बेच्नेबारेमा गम्भीर छलफल भइरहेको बताए ।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री ओलीले विसं २०७२ मा परिकल्पना गर्नुभएको योजनाले साकार रूप लिएको जनाउँदै अब उज्यालो नेपालको सपनासँगै ऊर्जा वृद्धि, आयातनिर्यात गरी आय स्रोत वृद्धि र आधुनिक नेपाल निर्माणको आधारभूमि तयार भएको छ भने। ऊर्जा सचिव दिनेशकुमार घिमिरेले सबैभन्दा बढी क्षमताको सबस्टेशनको निर्माण ऐतिहासिक उपलब्धि भएको बताए।
२०७७ माघ १९ गते सोमवार १७:०६ बजे प्रकाशित