चाडपर्वका बेला खाद्यान्न अभाव हुन दिदैनौं, महँगी र कालोबजारी नियन्त्रणका लागि सरकार लागिपरेको मन्त्री भट्टको दाबी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले देशभर खाद्यान्न अभाव हुन नदिन सरकार लागिपरेको बताए। प्रेस सङ्गठन नेपाल कैलालीद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले चाडपर्वका बेला खाद्यान्न अभाव हुने दुर्गम जिल्लामा सरकारले खाद्यान्न अभाव नहुने गरी व्यवस्थापन गरिरहेको बताए ।
देशका दुर्गम जिल्लामा खाद्यान्नको अवस्थाका बारेमा सरकारले जानकारी लिने गरेको बताउँदै उनले वर्षभरी खाद्यान्न अभाव हुन नदिन सरकारले व्यवस्थापनको काम गरिरहेको बताए । मन्त्री भट्टले कोरोनाका बेला पनि देशैभर आपूर्तिको समस्या नभएको उल्लेख गर्दै चाडपर्वका बेलामा हुने कालोबजारी नियन्त्रणका लागि देशभर बजार अनुगमनलाई प्रभावकारी बनाइने बताए । उनले महँगी नियन्त्रणका लागि सरकार लागिपरेको समेत दाबी गरे।
मन्त्री भट्टले कोरोना भाइरसका कारण देशको अर्थतन्त्रमा नराम्रो प्रभाव परेको उल्लेख गर्दै त्यसलाई चलायमान बनाउन सरकार अघि बढेको बताए । कोरोनाका कारण उद्योग, कलकारखाना पूर्ण रुपमा सञ्चालनमा आउन नसेको बताउँदै उनले नेपाल सरकारको मातहतमा रहेका उद्योगको स्तरवृद्धि गर्न मन्त्रालयले समिति गठन गरेको धारणा व्यक्त गरे ।
उहाँले देशका विभिन्न जिल्लामा सरकारले घोषणा गरेका विशेष आर्थिक क्षेत्र र औद्योगिक क्षेत्रको काम सन्तोषजनक भइरहेको उल्लेख गर्दै कैलालीको डुडेझारी र कञ्चनपुरको दैजी औद्योगिक क्षेत्रको सबै काम सकिएर शिलान्यासको चरणमा प्रवेश गरेको जानकारी दिए । दोधरा–चाँदनी सुख्खा बन्दरगाहको काम अघि बढिसकेको उनको भनाइ छ ।
२०७७ असोज २० गते मंगलवार १९:०३ बजे प्रकाशित