भारतले निर्यातमा रोक लगाएसँगै नेपाली बजारमा प्याजमा चरम कालोबजारी, बन्देजका नाममा कृत्रिम अभाव गर्नेलाई मुद्दा चलाउने चेतावनी

काठमाडौँ । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा कृत्रिम अभाव र कालोबजारी सुरु भएको छ । व्यवसायी संगठित भएरै कृत्रिम अभाव गराइरहेका छन् । भारतले भदौ २९ देखि निर्यात रोकेको थियो । त्यसलगत्तै यहाँ कालोबजारी सुरु भएको हो ।
‘दुई–तीन दिनमै होलसेलमै मूल्य दोब्बर भयो, यो अस्वाभाविक हो,’ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका एक अधिकारीले भने । भदौ २९ मा होलसेलमा प्रतिकिलो ६० रुपैयाँमा बिक्री भएको ती अधिकारी बताउँछन् । ३१ गतेसम्म आइपुग्दा होलसेलमै प्रतिकिलो १ सय २० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । खुद्रा बजारमा किलोकै १ सय ४० रुपैयाँसम्म पुगेको छ ।
बजारमा कृत्रिम अभाव र कालोबजारी सुरु भएपछि बुधबार काठमाडौं महानगरपालिकाले वाणिज्य, प्रहरी र उपभोक्ता अधिकारकर्मीसहितको संयुक्त अनुगमन गरेको थियो । अनुगमनका लागि वाणिज्य विभागले छुट्टाछुट्टै ५ वटा टोली खटाएको थियो । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट पनि अनुगमनमा सहभागी थिए । त्यस क्रममा पनि कालोबजारी भइरहेको पुष्टि भएको छ ।
अनुगमनका क्रममा व्यापारीले प्याज नभएको बताएको अनुगमनमा सहभागी वाणिज्य, आपूर्ति तथा उपभाेक्ता सरक्षण विभागका प्रतिनिधि प्रविन राई भनाइ छ । त्यसपछि गोदाममा निरीक्षण गर्दा चुली इन्टरप्राइजेजमा २ सय र एसकेमा १९ बोरा प्याज लुकाएको भेटियो । ‘प्याज लुकाएर कृत्रिम अभाव गरी कालोबजारी गरेको देखियो,’ राईले भने । अनुगमनका क्रममा ४ पसललाई थप कारबाही प्रक्रिया अघि बढाउन वाणिज्यलाई जिम्मा लगाइएको उनले जानकारी दिए ।
कञ्जुमर आई नेपालका महासचिव रञ्जन खनाल भन्छन् ‘अघिल्लाे दिन ४५ रुपैयाँमा काराेबार भएकाे प्याज भाेलीपल्ट एकाएक कालाेबजारी भइ १२० रुपैयाँदेखि १४० सम्म तिर्न उपभाेक्ता बाध्य भएकाे छन् ।’ यसरी चर्काे मुल्य तिर्न पर्दा उपभाेक्ता चरम मार्कामा परेकाे खनालकाे भनाइ छ ।
२०७७ असोज १ गते बिहीवार ०८:३२ बजे प्रकाशित