कोरोना भाइरसको प्रभाव : सुनको मुल्यमा नयाँ रेकर्ड, तोलाको ८२ हजार पाँच सय रुपैयाँ
काठमाडौं । साताको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनको मुल्यमा नयाँ किर्तिमान कायम भएको छ । सुन आज तोलामा रु १८ सय रुपैंयाँले बढेर नयाँ किर्तिमान बनाएको हो ।
सुनको भाउ शुक्रबार तोलामा १८ सय रुपैयाँ बढेर तोलाको ८२ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो मुल्य अहिलेसम्मकै उच्च हो ।
कोरोना भाइरसका कारण विश्व नै आर्थिक मन्दीतिर गइरहेकाले लगानीकर्ता सुनतिर आकर्षित भएका हुन् ।
लगानीकर्ता सुनमा आकर्षित हुँदा सुन अन्तर्राष्ट्रिय बजारमै महँगो भएको र डलरको तुलनामा भारतीय मुद्रा कमजोर हुँदा नेपालमा झन् महँगो भएको महासङ्घ अन्तर्गतको भाउ निर्धारण समितिले जनाएको छ ।
बिहीबार फेरि तोलामा दुई सय रुपैयाँले बढेको सुनको भाउ शुक्रबार तोलामा एक हजार आठ सय रुपैयाँले बढेर अहिलेसम्मकै महँगो तोलाको ८२ हजार पाँच रुपैयाँ पुगेको हो ।
चाँदी तोलामा १० रुपैयाँ बढेर तोलाको आठ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
२०७६ फागुन २३ गते शुक्रवार १५:०८ बजे प्रकाशित