प्याजको मूल्य अहिलैसम्मकै उच्च, प्रतिकिलो दुई सय ५० रुपैयाँमा विक्रि
मुल्य स्थीर नहुदा सम्म प्रयोग कम गर्न उपभोक्तालाई आग्रह
काठमाडौं । नेपाली बजारमा प्याजको मूल्य उपभोक्ता निस्सासिने गरी बढेको छ । कालिमाटी फलफूल तथा तरकारी विकास समितिले मंगलबारका लागि सुकेको प्याजको प्रतिकिलो होलसेल मूल्य नै दुई सय रुपैयाँ तोकेको छ ।
गत मंगलबार कालिमाटी बजारमा सुकेको प्याजको थोक मूल्य औषत १५२ रुपैयाँ प्रतिकिलो थियो । तर आज प्रतिकिलो ४८ रुपैयाँले बढेर दुई सय रुपैयाँ पुगेको हो । कालिमाटी तरकारी बजारमै प्याजको खुद्रा मूल्य २२० र अधिकतम २३० रुपैयाँ पुगेको छ । कालीमाटी बजार बाहिरका खुद्रा पसलमा प्रतिकिलो मूल्य साढे दुई सय हाराहारी पुगेको विकास समितिले जनाएको छ ।
कालिमाटी फलफूल तथा तरकारी विकास समितिका उप निर्देशक विनय श्रेष्ठले आफ्नो जानकारीमा भएअनुसार प्याजको मूल्य अहिलैसम्मकै उच्च भएको बताए । स्वदेशी उत्पादन अन्त्यन्तै कम भएको र भारतबाट आयात रोकिएका कारण मूल्य आकासिएको उपनिर्देशक श्रेष्ठको भनाइ छ ।
समितिकाअनुसार पछिल्लो साता हरेक दिन प्याजको मूल्य प्रतिकिलो औसत १० रुपैयाँ हाराहारीले बृद्धि भइरहेको छ । कालिमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार प्याजको दैनिक आयात १० टन हाराहारीमात्रै छ । सामान्य अवस्थामा प्याजको आयात दैनिक ८० देखि ९० टन हाराहारी हुन्थ्यो । न्युन मात्रामा उत्पादन हुने नेपाली कृषकको प्याज बेमौसमी वर्षाले नोक्सान हुनु पनि बजारमा प्याज अभावको कारण हो ।
२०७६ मंसिर १० गते मंगलवार १६:१३ बजे प्रकाशित