रातो नम्बर प्लेटको सवारी साधनले यात्रु नबोक्न विभागको निर्देशन
काठमाडौं । टुटल, पठाओ र अन्य निजी सवारी साधनलाई भाडामा मान्छे नबोक्न यातायात व्यवस्था विभागले सुचना जारी गरेको छ।
रातो नम्बर प्लेटको सवारी साधनले यात्रु बोक्न नपाउने प्रावधान यातायात व्यवस्था ऐनमा रहेकोले सुचना जारी गरिएको विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिए।
‘ऐनले नै बर्जित गरेको कुरालाई कसरी हुन दिनेरु यात्रु बोक्न कालो नम्बर प्लेटमा दर्ता हुनैपर्छ,’ हमालले बताए।
निजी सवारी साधनले भाडा लिई यात्रु ओसारपसार गरेको जनगुनासो आएको भन्दै यसरी कानुन उलङ्घन नगर्न र नगराउन भनिएको विभागले बतायो।
कानुन मिचेर निजी सवारी साधनले भाडा लिई यात्रु ओसारपसार गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारवाही हुने हमालले जानकारी दिए।
नीति नबनि सरकारले यो कदम चाल्नु असान्दर्भिक भएको पठाओका क्षेत्रिय निर्देशक अशिम मान सिंह बस्न्यातले बताए।
‘पहिले पनि यस्तो कुरा नआएको होइन। सर्वसाधरणको चर्को विरोधपछि प्रधानमन्त्रीले नै नीति नबनुन्जेल यथावत संचालन गर्न दिन निर्देशन दिनु भएको थियो,’ उनले भने ‘उहाँहरुले कुनै नीति नै बनेको छैन, नत्र हामीले कसरी सेवा दिने।’
राइड सेयर बन्द भए हजारौं राइडर र लाखौं यात्रुलाई मर्का पर्ने उनले बताए।
‘रोजगारी पाइरहेका हजारौं राइडरलाई कसले रोजगारी दिने, लाखौं यात्रुलाई कसले सेवा दिने। हामीले रोजगारी पनि सिर्जना गरेका छौं र यात्रुलाई सस्तोमा यात्रा गराएका छौं,’ बस्न्यातले बताए।
विभागको यो कदम सकारात्मक भएको उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका केन्द्रीय सदस्य विष्णु चौहानले बताए।
‘एक त यो गैर कानुनी काम हो। यसले सरकारलाई कर पनि तिर्दैन र हाम्रो व्यवसाय पनि चौपट बनाउँदै छ,’ उनले भने ‘कसैलाई अनेक थरी कर र कसैलाई छुट, यस्तो पनि हुन्छ।’
यस्ता एपले सेवा दिन थालेपछि ट्याक्सी व्यवसायीहरु विरोधमा उत्रिएका थिए। यो सगैँ निजी कारहरुले पनि विभिन्न ठाँउमा यातायात सेवा दिएकोमा उनीहरुको असन्तुष्टी थियो।
गत वर्ष माघ १ गते महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियमविपरीत यात्रु बोकेको भन्दै टुटल र पठाओको मोटरसाइकललाई कारवाही गरेको थियो। सरकारको यो कदमको चर्को अलोचना भएपछि प्रधानमन्त्रीले टुटल र पठाओलाई कारवाही नगर्न ठाडो आदेश दिएका थिए।
२०७६ मंसिर ५ गते बिहीवार १४:१५ बजे प्रकाशित