"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

तिहारलाई २५ लाख माला गत वर्ष कै मुल्यमा आपूर्ति गरिने

काठमाडौं । तिहारका लागि देशभर फूलका २५ लाख माला आपूर्ति गरिने भएको छ । फूल व्यवसायीले देशभरबाट हुन सक्ने फूलका मालाको माग तथ्यांकलाई संकलन गरी सोहीअनुसार आपूर्ति गर्न लागेको फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए । ‘यसमध्ये साढे ६ लाख मखमली र ५० हजार माला गोदावरी फूलका हुने देखिएको छ,’ उनले भने, ‘बाँकी १९ लाख माला सयपत्री फूलको प्रयोगमा आउनेछ ।’

सयपत्रीमा मुलुक बिस्तारै आत्मनिर्भरउन्मुख भइरहेको श्रेष्ठले बताए । ‘यसपालि माग हुने १९ लाखमध्ये करिब अढाई लाख माला भारतबाट आउनेछ,’ उनले भने, ‘बाँकी साढे १५ लाख माला स्वदेशकै उत्पादनले धान्नेछ ।’ कृषि तथा पशुपक्षी विकास मन्त्रालयले पाँच वर्षदेखि सयपत्री फूल आत्मनिर्भर कार्यक्रम सञ्चालन गरेको थियो । सो कार्यक्रमबाट सयपत्रीको उत्पादन वृद्धिमा ठूलो टेवा पुगेको व्यवसायीको भनाइ छ ।

भारतीय मालाको डिजाइन राम्रो हुने भएकाले सहरी क्षेत्रका उच्च वर्गले प्रयोग गर्दै आएका छन् । सबै वर्गले नेपाली मालाको खोजी गर्ने हो भने भारतबाट आयात नै गर्न नपर्ने व्यवसायीको दाबी छ । ‘हामी करिब–करिब सयपत्री फूलमा आत्मनिर्भर छौँ, त्यसैले नेपाली फूलको माला नै प्रयोग गर्छु भनेर खोज्दै हिँड्ने कोही पनि उपभोक्ताले नभेट्टाउने भन्ने छैन,’ श्रेष्ठले भने । दश वर्षअघि काठमाडौं उपत्यका र आसपासका जिल्लामा मात्रा व्यावसायिक उत्पादन हुने गरेको सयपत्री अहिले देशभर खेती हुन थालेको छ ।

मखमलीको माला निर्यात
विगत केही वर्षयता मखमली फूलको माला विदेशमा निर्यात हुन थालेको छ । चाँडै नओइलाउने, तुलनात्मक रूपमा सस्तो र ढुवानी गर्न सजिलो हुने भएकाले मखमलीको माला विदेशमा रहेका नेपालीमाझ लोकप्रिय भइरहेको व्यवसायीको भनाइ छ । मखमली फूल वा माला धेरै मात्रामा अष्ट्रेलिया जाने गरेको छ । त्यसपछि जापान, बेलायत, क्यानडा, अमेरिकालगायत खाडी मुलुकमा समेत माग छ ।

औसत मूल्यमा बिक्री हुने
यसपटक मागअनुसार सयपत्री, गोदावरी र मखमली फूलको माला उपलब्ध भएकाले मूल्यमा खासै असर नपर्ने व्यवसायीको भनाइ छ । सयपत्री फूलको माला ९एक मिटर० ७० रुपैयाँसम्म र मखमलीको माला ५० रुपैयाँसम्म उपलब्ध हुने व्यवसायीको जिकिर छ । गोदावरी फूलको माला भने प्रतिगोटा २ सय ५० रुपैयाँभन्दा बढी पर्नेछ ।

गोदावरी मेलामा भिड
फ्लोरिकल्चर एसोसिएसन नेपालले ललितपुरको जावालाखेलमा सञ्चालन गरिरहेको गोदावरी फूल प्रदर्शनीमा उपभोक्ताको चाप बढेको छ । शुक्रबार ६ हजार ५ सय उपभोक्ताले अवलोकन गरेकोमा शनिबार करिब १५ हजारले अवलोकन गरेको अध्यक्ष कुमारकसजु श्रेष्ठले जानकारी दिए । ‘प्रदर्शनीमा आएर गोदावरी र सयपत्री फूल किन्नेको विशेष भीड छ,’ उनले भने, ‘त्यस्तै, गमलामा राखिएको फूल घरभित्र रोपिने बिरुवालगायतको माग पनि उच्च छ ।’

२०७६ कात्तिक ३ गते आइतवार १४:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु