दसैंमा उपत्यकामा खसीबोका र च्याङ्ग्राको अभाव हुने संकेत

काठमाण्डौं । आगामी दसैंमा उपत्यकामा मात्र ६० हजार संख्यामा खसीबोका र च्याङ्ग्राको खपत हुने अनुमान गरिएको छ । दसैंमा सबैले अत्यधिक रूपमा मासुको उपभोग गर्ने हुँदा खसीबोकाको खपत धेरै हुने गर्छ । व्यवसायीका अनुसार ५० हजार संख्यामा खसीबोका र १० हजार संख्यामा च्याङ्ग्रा खपत हुने अनुमान गरिएको छ ।
दसैंलाई लक्षित गरेर अहिलेदेखि नै खसीबोका भित्रिन थालिसकेका छन् । विशेषगरी घटस्थापनाको दिनदेखि उपत्यकामा दसैंलाई लक्षित खसीबोका भित्रन सुरु गर्छ । यो वर्ष २५ देखि ३० हजार संख्यामा दसैंमा खसीबोका अभाव हुने व्यवसायी दिपक थापाले जानकारी दिए । “दसैंमा ५० देखि ६० हजार संख्यामा खसीबोका खपत हुने गर्छ,” व्यवसायी थापाले भने, “आयातमा कडागरिएको र स्थानीय उत्पादनले माग धान्न नसक्दा दसैंमा अभाव हुने देखिन्छ ।”
आयातमा कडाइ गरेपछि बजारमा अभाव हुँदा यो वर्ष खसीबोकाको मूल्यसमेत बढेको छ । सरकारले खसीबोकाको आयात कडाई गरे पनि प्रहरी प्रशासनको मिलेमतोमा भारतबाट खसीबोकालाई नेपाली भनेर भित्र्याइरहेको उनको भनाइ छ । व्यवसायीका अनुसार अहिले पनि चोरी तस्करीबाट दैनिक ३ देखि ६ सयको संख्यामा खसीबोका भित्रिरहेका छन् । चोरी तस्करीबाट खसीबोका भित्र्याउँदा राजस्वसमेत गुम्ने गर्छ । “यसरी सरकार नै मूल्य बढाउनमा प्रोत्साहन गरिरहेको छ,” उनले भने, “प्रहरी प्रशासनसँग मिलेर गैरकानुनी तरिकाले ल्याएका खसीबोका स्वदेशी भनेर बिक्री भइरहेका छन् ।” सरकारले बजार मूल्य निर्धारण नगर्दा व्यवसायीले मनपरी मूल्य निर्धारण गर्दा त्यसको असर आम उपभोक्तामा पर्न गएको छ ।
अस्वस्थ खसीबोका आयातमा रोक लगाउनका लागि सरकारले ६ महिना अघिदेखि भन्सार विन्दुमा क्वारेनटाइन सर्टिफिकेट अनिवार्य गरेको थियो । आयातमा कडाइ गरेपछि व्यवसायीले गैरकानुनी ढंगले खसीबोकाको आयात गरिरहेका छन् । कञ्ज्यूमर आई नेपालका अध्यक्ष बिमला खनालले सरकारले आयातमा कडाई गरेपछि बजारमा अभाव देखाएर व्यवसायीले मूल्य बढाउँदा त्यसको असर आम उपभोक्तामा गर्न गएको बताउनु भएको छ ।
पशु सेवा विभागका महानिर्देशक वंशी शर्माले स्थानीय उत्पादनले बजार माग पुरा गर्ने बताए । उनका अनुसार उपत्यकामा वार्षिक ६ लाख खसीबोका चाहिन्छ । “मुलुकभर १ करोड १८ लाख खसीबोका रहेको हाम्रो अनुमान छ,” उनले भने, “दसैंमा बढी खपत हुने भए पनि स्थानीय उत्पादनले नै माग पूरा गर्छ ।” चारदेखि पाँच प्रतिशतमात्र अपुग रहेको उनको भनाइ छ । वार्षिक ३३ लाख खसीबोका काट्ने अनुमान छ । स्वदेशमा पर्याप्त खसीबोकाको उत्पादन भएपनि व्यवसायीहरू गाउँ गाउँमा खरिद गर्न नजाने गरेकाले अभाव रहेको बताउने गरेको उनको भनाइ छ । आवश्यक कागजपत्र पूरा गरेर खसीबोका ल्याउनेको लागि रोक नलगाएको उनको भनाई छ ।
सरकारले तीन हजार खरिद गर्दै चाडबाडलाई लक्षित गरेर सरकारले ३ हजार खसीबोका र च्याङ्ग्रा खरिद गर्ने भएको छ । चाडपर्वमा बजारमा व्यवसायीले अस्वाभाविक मूल्य लिई उपभोक्ता ठग्न सक्ने हुँदा बजार मूल्य नियन्त्रण गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी यो वर्ष २ हजार संख्यामा च्याङ्ग्रा र १ हजार संख्यामा खसी खरिद गर्न लागेको हो । बजार मूल्यभन्दा प्रतिकेजी ५० रुपैयाँ छुट दिन लागेको लिमिटेडले जानकारी दिए । लिमिटेडका महाप्रबन्धक योगेन्द्र गौचनका अनुसार दसैंका लागि एक हजार खसीबोका र २ हजार च्याङ्ग्रा खरिद गर्ने योजना छ । गत वर्ष २ हजार खरिद गर्ने लक्ष्य रहेकोमा १ हजार ३ सयमात्र खरिद गरिएको थियो ।
२०७६ भदौ २९ गते आइतवार ०९:५० बजे प्रकाशित