निरन्तर बढेको बढै व्यापार घाटा

काठमाडौं । गत आर्थिक वर्ष भरीमा नेपालको व्यापार घाटा १३.५५ प्रतिशतले बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङकमा अघिल्ल्लो वर्षको तुलनामा व्यापार घाटा बढेको देखिएको हो । आर्थिक वर्ष २०७४/७५ मा नेपालको व्यपार घाटा ११ खर्ब ६३ अर्ब ७४ करोड थियो भने आर्थिक वर्ष २०७५र७६ मा नेपालको व्यापार घाटा १३ खर्ब २१ अर्ब ४२ करोड पुगेको छ ।
यो भनेको गत वर्षको नेपालको बजेटभन्दा ठूलो हो। गएको वर्ष सरकारले १० खर्ब ९४ अर्बमात्र खर्च गरेको थियो। सरकारले १३ खर्ब १५ अर्बको बजेट ल्याएपनि अन्तमा वास्तविक बजेट भने भएको खर्च नै हो।
नेपालले विदेशबाट ल्याएको बस्तु तथा सेवाको मूल्य र नेपालले देशभित्र उत्पादन गरेर विदेश पठाएको बस्तुको मूल्यको अन्तर व्यापार घाटा हो । नेपालको वैदेशिक व्यापारलाई सय रुपैयाँ मान्ने हो भने, नेपालले ९३.६ रुपैयाँको आयात गरेको छ भने ६.४ रुपैयाँको सामान मात्रै निर्यात गरेको छ ।
गत आर्थिक वर्षमा नेपालले १४ खर्ब १८ अर्ब रुपैयाँ भन्दा बढीको बस्तु तथा सेवा अन्य देशबाट आयात गरेको छ । यो नेपालले गरेको निर्यातको १४.६ गुणा बढी हो । सोही समयमा नेपालमा उत्पादन भएको बस्तु तथा सेवा ९७ अर्बको मात्रै निर्यात गरेको छ ।
एक वर्षमा नेपालले आयत १३.९३ प्रतिशतले बढाएको छ भने १९.३६ प्रतिशतले निर्यात बढाएको छ । आर्थिक वर्ष २०७४/७५ मा भने नेपालले १२ खर्ब ४५ अर्बको सामान आयत गरेको थियो र ८१ अर्बको बस्तु निर्यात गरेको थियो ।
नेपालले गत वर्षको साउनदेखि असार सम्ममा १५ खर्ब १५ अर्ब ६४ करोडको व्यापार भएको छ यो गत वर्षको तुलनामा १४.२६ प्रतिशतले बढी हो । नेपालमा अगिल्लो वर्ष १३ खर्ब २६ अर्बको बैदेशिक व्यापार भएको थियो ।
गत आर्थिक वर्षमा बैदेशिक व्यापारबाट सरकारको कमाइ भने १४.५० प्रतिशतले बढेको छ । सरकारले भन्सार शुल्कबाट मात्रै ३ खर्ब ६२ अर्ब ५७ करोड संकलन गरेको छ ।
२०७६ साउन १४ गते मंगलवार १४:४७ बजे प्रकाशित