पाठक असन्तुष्टि : पुस्तक आयातमा १० प्रतिशत भन्सार महसुल लगाउने घोषणा अलोकतान्त्रिक
सरकारी कदमले ज्ञानमा अंकुश, विद्यार्थी थप मारमा, चोरीको संस्कार मौलाउने आशंका
काठमाडौं । सङ्घीय सरकारले बजेटमार्फत् सबै प्रकारका पुस्तक आयातमा १० प्रतिशत भन्सार महसुल लगाउने घोषणा गरेपछि प्रकाशक, लेखक, विद्यार्थी र पुस्तक पाठकसम्मले त्यसप्रति असन्तुष्टि र विरोध जनाइरहेका छन्।
नेपाल राष्ट्रिय पुस्तक विक्रेता तथा प्रकाशक सङ्घले त यो विषयलाई अन्तर्राष्ट्रिय सङ्घसंस्थासम्म उठाइसकेको जनाएको छ। सङ्घका अध्यक्ष लिखत पाण्डेले नेपाल सरकारद्वारा घोषित यो नयाँ कर हटाउनका निम्ति दबाव दिन संयुक्त राष्ट्रसङ्घीय निकाय युनेस्को र अन्तर्राष्ट्रिय पब्लिकेशन एसोशिएशनलाई समेत पत्र पठाइएको बताए।
पुस्तक आयात नै ठप्प पार्ने चेतावनी
सरकारले आफ्नो निर्णय फिर्ता नलिए आफूहरूले पुस्तक आयात नै ठप्प पार्ने पुस्तक विक्रेताको चेतावनी छ। सरकारी अधिकारीहरूले स्वदेशी मुद्रण उद्योगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ पुस्तक आयातमा भन्सार महसुल लगाइएको बताउने गरेका छन्।
तर ज्ञानको संवाहक मानिने पुस्तकको आयातमा भन्सार महसुल लगाउने सरकारी कदमलाई कतिपयले “ज्ञानमाथिको करुको सङ्ज्ञा” दिएका छन्। पाठक र लेखक दुवैको हैसियतले भन्नुपर्दा कर लगाउन नहुने पक्षमा रहेका छन् । अझ सबै प्रकारका पुस्तकलाई एउटै डालोमा राखेर नियम लगाउन नहुने विज्ञहरूको तर्क छ।
अन्तर्राष्ट्रिय अभ्यासविपरीत
पुस्तकको आयातनिर्यात, विक्री, वितरण वा ओसारपसारमा कुनै प्रकारको महसुल, शुल्क, भन्सार महसुल लगाउने अभ्यास विदेशमा नरहेको किताबका प्रकाशकहरुको तर्क छ। यो विषयमा नेपालमा कतिपयले युनेस्कोको शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सामग्रीको आयातसम्बन्धी सन् १९५० सम्झौतालाई उद्धृत गर्ने गरेका छन्।
जसअनुसार पुस्तक, प्रकाशन र दस्तावेजको आयातको सम्बन्धमा कुनै पनि भन्सार कर अथवा अन्य महसुल लगाइने छैन भन्ने उल्लेख छ। तर युनेस्कोको वेबसाइट अनुसार उक्त सम्झौताको पक्षमा सन् २०१७ सम्ममा १०३ देशले हस्ताक्षर गरे पनि त्यो सूचीमा नेपालको नाम छैन।
किताबमा भन्सार महसुलेबाट विद्यार्थी, शिक्षक बुद्धिजीवी लगायत समग्र पाठकवर्गमा असर पर्छ। सबै पुस्तकको आयातमा महसुल लाग्ने भएपछि पाठ्यपुस्तक किन्ने विद्यार्थी पनि थप मारमा पर्ने जानकारहरु बताउछन् ।
करको असर कस्तो ?
भन्सार महसुल लगाउने पछिल्लो कदमबाट सबै पाठक प्रभावित हुनेमा लेखक तथा प्रकाशक सहमत देखिन्छन्। प्रकाशकहरूका अनुसार नेपाल पुस्तकमा आत्मनिर्भर भइनसकेकोले कतिपय पाठ्यपुस्तकसहित धेरै पुस्तक बाहिरबाट आयात हुन्छ। यसबाट विद्यार्थी, शिक्षक बुद्धिजीवी लगायत समग्र पाठकवर्गमा असर पर्छ।
चोरीको संस्कार मौलाउने आशंका
आयात हुने सबै खाले पुस्तकमा भन्सार महसुल लागु भएपछि पुस्तकको मूल्य स्वतः बढ्ने र त्यसले एउटा अर्को समस्या पनि निम्त्याउने प्रकाशकहरूलाई डर छ।
राष्ट्रिय पुस्तक विक्रेता तथा प्रकाशक सङ्घका अध्यक्ष पाण्डे भन्छन्, “विदेशी पुस्तक महँगो हुने भएपछि कतिपय पुस्तक सबैले किन्न सक्ने हुँदैनन्। अनि अनधिकृत रूपमा पुनरुत्पादन गर्ने संस्कृतिले बढावा पाउने सम्भावना बढ्छ।”
यो तर्कमा हिमाल किताबका प्रकाशक थापा पनि सहमत छन्। उनी भन्छन्, “विदेशमा छापिएका अझ चर्चित र राम्रा किताब महँगो पर्ने भए चोरीको सम्भावना बढी हुन्छ।”
-विविसि नेपालीबाट
२०७६ असार ११ गते बुधवार १५:१७ बजे प्रकाशित