इन्धन भण्डारणगृह निर्माण प्रक्रियामा निगम अघि बढ्दै

काठमाडौं । आपूर्ति सहजताका लागि नेपाल आयल निगमको वर्तमान इन्धन भण्डारण क्षमतालाई अघि बढाउनु पर्ने अत्यावश्यक परिस्थीतिलाई गम्भीरताका साथ लिई नेपाल आयल निगमको संञ्चालक समितिले भण्डारणगृह निर्माण प्रक्रियाअघि बढाएको छ । निगमले कर्णाली प्रदेशमा ९० दिनलाई पुग्ने इन्धन भण्डारणगृह निर्माण प्रक्रियाअघि बढाएको हो । दुई वर्षअघि इन्धन भण्डारणगृह निर्माणका लागि निजी जग्गा खरिद गरिएको थियो । कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जग्गा प्राप्ति ऐन, ०३४ अनुसार नेपाल ट्रस्टको जग्गा खरिद प्रक्रिया अघि बढाएको जनाएका छन् ।
कार्यकारी निर्देशक पौडेलले सुर्खेतमा नेपाल ट्रस्टको नाममा रहेको करिब २५० रोपनी जग्गा लिजमा लिएर भण्डारणगृह बनाउन सञ्चालक समितिबाट स्वीकृति पाएको जानकारी दिए । ‘कर्णाली प्रदेशमा अहिलेसम्म इन्धनको भण्डारणगृह छैन, त्यसैले त्यहीँबाट भण्डारणगृह निर्माणको कार्य थालनी गर्न लागिएको हो,’ उनले भने, ‘सञ्चालक समितिले नेपाल ट्रस्टको जग्गा लिजमा लिएर डिपो निर्माण अघि बढाउन अनुमति दिएको छ । अब प्रक्रिया चाँडो अघि बढ्छ ।’
सो जग्गा प्राप्तिका लागि ट्रस्टको कार्यालयसँग समन्वय थालिएको पौडेलले बताए । उनले जग्गा प्राप्तिको टुंगो लागेपछि कति क्षमताको भण्डारणगृह बनाउने भन्ने विषयमा गृहकार्य अघि बढाउने बताए । कर्णाली प्रदेशमा इन्धनको माग कम छ । त्यहाँ हाल दैनिक १ लाख ४० हजार लिटर डिजेल र २० हजार लिटर पेट्रोलको खपत छ । प्रदेशभरका १० जिल्लामा १३ वटा मात्र पेट्रोलपम्प छन् ।
नेपाल ट्रस्टको जग्गा भण्डारणगृहका लागि उपयुक्त देखिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जानकारी दिए । ‘आयल निगमले भण्डारणगृह बनाउन भनेर खोजेको जग्गा हेर्न म पनि गएको थिएँ,’ उनले भने, ‘नेपाल ट्रस्टको नाममा रहेको जग्गा हेरेका छन् । त्यहाँ पानी र सडकको सहज पहुँच छ । त्यसैले भण्डारणगृह बनाउन उपयुक्त नै हुन्छ होला ।’ उनले बताए ।
निगमको सुर्खेत डिपो प्रमुख दीपकप्रसाद घिमिरेले भेरी नदीको डिल हुँदै राजमार्गसम्म फैलिएको जग्गाको क्षेत्रफल ३४ बिघा, ४ कट्ठा सात धुर रहेको जानकारी दिए । ‘मैले यहाँ रहेको जग्गाको क्षेत्रफल र अवस्थाबारे मूल्यांकन गर्दा कर्णाली प्रदेशका लागि भण्डारणगृह बनाउन उपयुक्त देखिन्छ । सो जग्गा बस्तीबाट पनि निक्कै टाढा छ,’ उनले भने । उनले प्रस्ताव गरेमध्ये करिब आधा मात्र जग्गा लिजमा लिएर भण्डारणगृह बनाउन सञ्चालक समितिले स्वीकृति दिएको हो ।
२०७६ असार १ गते आइतवार १५:२६ बजे प्रकाशित