"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

आर्थिक वर्ष : १० महिनामा ११ खर्ब घाटा, स्वदेशी वस्तुको उत्पादनमा जोड दिन विज्ञको सुझाव

विलासिताका वस्तुको बढ्दो आयात र कृषिमा परनिर्भरता मुख्य कारण

काठमाडौँ । विलासिताका वस्तुको आयात र कृषिको परनिर्भरताले मुलुकको व्यापार घाटा बढेको छ । १० महिनामा ११ खर्ब व्यापार घाटा भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको १० महिनामा १२ खर्ब ५६ अर्ब ६७ करोडको व्यापार भयो ।

त्यसमा आयात ११ खर्ब ७८ अर्ब १३ करोड र निर्यात ७८ अर्ब ५३ करोड रुपैयाँको भएको छ । जसमध्ये १० खर्ब ९९ अर्ब ६० करोड घाटा भएको हो । अघिल्लो वर्षको १० महिनाको तुलनामा २०.०६ प्रतिशतले व्यापार घाटा बढेको छ । आर्थिक वर्ष २०७४/०७५ को १० महिनामा व्यापार घाटा ९ खर्ब १५ अर्ब ९० करोड पुगेको थियो ।

विज्ञका अनुसार व्यापार घाटा बढ्नुमा मुख्यतः आयात वृद्धि नै हो । ‘निर्यात बढ्नुपर्थ्यो, उच्च दरले वृद्धि हुन सकेको छैन,’ पूर्वअर्थ सचिव शान्तराज सुवेदीले भने, ‘आयात र निर्यातबीचको ‘ग्याप’ बढी भयो ।’

व्यापार घाटा निरुत्साहित गर्न स्वदेशी वस्तुको उत्पादन गरी आयात घटाउने नीति बनाउनुपर्ने सुवेदीले बताए । ‘विलासिताका वस्तुको आयात बढ्दो छ । त्यसमा कर वृद्धि गरी स्वदेशी उत्पादनलाई प्रोत्साहन र संरक्षण गर्न सकिन्छ,’ उनले भने, ‘त्यसो हुँदा आयात–निर्यातको ग्यापमा कमी हुन सक्छ ।’

१० महिनाको अवधिमा ११ खर्ब ७८ अर्ब १३ करोडको आयात भएको थियो । ७८ अर्ब ५३ करोड रुपैयाँको निर्यात भएको छ । कृषि उत्पादन वृद्धि हुँदा घाटा कम गर्न केही मद्दत हुन सक्ने जानकार बताउँछन् । मुख्य बाली मानिएको धान, मकै, गहुँदेखि तेल अर्बौं रुपैयाँको आयात भएको छ ।

‘कृषि उत्पादन क्षेत्र वृद्धि नभएसम्म घाटा कम गर्न सम्भव नै हुँदैन । कृषि उत्पादन बढाउन मल, बीउदेखि सिँचाइको सहज उपलब्धता चाहिन्छ,’ पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझाले भने, ‘तर विडम्बना किसानले मल, बीउ सहज रूपमा कहिल्यै पाएनन् ।’ समयमै मल, बीउ नहुँदा उत्पादनमा वृद्धि हुँदैन । उत्पादन वृद्धि नहुँदा अधिकांश किसानले खेती गर्न छाडेका छन् । जसले गर्दा कृषिजन्य वस्तुमा समेत परनिर्भरता बढ्दै गएको छ ।’

कृषि क्षेत्रको सुधारका लागि जोनरसुपर जोन तोकेर व्यवस्थित गर्दै लैजानुपर्ने ओझाले बताए । हाल सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत विभिन्न जिल्लामा जोनरसुपरजोन कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

अधिकांश जोनरसुपरजोन कार्यक्रममा आपेपासेले अनुदानरसुविधा पाएका छन् । लक्षित किसानले अनुदान नपाउँदा उत्पादन बढ्न सकेको छैन । त्यसलाई व्यवस्थित गरेर लैजानुपर्ने पूर्वसचिव सुवेदीले बताए । ‘यी वस्तुसँगै मासु उत्पादन पनि बढाउँदै लैजानुपर्छ । मासु उत्पादन वृद्धि गर्न तीनै तहका सरकारको सहकार्य आवश्यक छ,’ पूर्वसचिव सुवेदीले भने ।

भन्सार विभागका अनुसार सबैभन्दा बढी इन्धनको आयात भएको छ । १० महिनाको अवधिमा २ खर्ब ६ अर्बको इन्धन आयात भएको छ । दोस्रोमा आइरन तथा स्टिल १ खर्ब १९ अर्ब ८७ करोडको आयात भएको छ । परमाणु रिएक्टर, यान्त्रिक उपकरण आयात गर्न १ खर्ब रुपैयाँ बाहिरिएको छ । सवारी साधान खरिद गर्न ७७ अर्ब १३ करोड रुपैयाँ बाहिरिएको छ ।

सरकारले विद्युतीय सवारी साधन प्रयोगमा जोड दिने बताए पनि पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन । विद्युतीय सवारी साधनमा इन्धन खपत हुँदैन । अन्य सवारीको तुलनामा सस्तो हुँदा घाटा न्यूनीकरणमा केही मद्दत पुग्ने विज्ञहरूको दाबी छ । यीबाहेक इलेक्ट्रिक सामग्री खरिदमा ७२ अर्ब ८४ करोड बाहिरिएको तथ्यांकमा उल्लेख छ ।

आयात खर्बमा भए पनि निर्यात भने अर्बमै सीमित छ । १० महिनाको अवधिमा ८ अर्ब ९७ करोड रुपैयाँको तेल ९सागसब्जीरजनावर तथा जडीबुटी० निर्यात भएको छ । ८ अर्ब २१ करोडको मानव निर्मित फाइबर, ६ अर्ब ८६ करोडको कफी, ६ अर्ब ३७ करोडको कार्पेट, ५ अर्ब १८ करोडको आइरन तथा स्टिल निर्यात भएको उल्लेख छ ।

भारतबाट मात्रै ६४.६ प्रतिशतले आयात भएको छ । चीनबाट १४.४ प्रतिशत र अन्य मुलुकबाट १६.९ प्रतिशत आयात भएको उल्लेख छ । निर्यात भएको मुलुकमध्ये अग्रस्थानमा छिमेकी भारत नै छ । भारततर्फ ६४.१ प्रतिशत निर्यात भएको छ । अमेरिकातर्फ क्रमशः ११.३ प्रतिशत, टर्की ३.३ प्रतिशत, जर्मनी ३.३ प्रतिशत र अन्य मुलुकतर्फ १८.१ प्रतिशत निर्यात भएको उल्लेख छ ।

पूर्वसचिव सुवेदीका अनुसार वैदेशिक लगानीलाई व्यवस्थित गर्न सकेमा घाटा कम गर्न मद्दत पुग्छ । ‘विदेशी कम्पनीबाट मुद्रा आर्जन हुन्छ, त्यसले उत्पादन बढ्छ,’ उनले भने, ‘उत्पादन कम भएपछि आयात कम हुन्छ ।’

पूर्वसचिव ओझाले पनि घाटा कम गर्न आयात प्रतिस्थापन गर्न सकिने वस्तुमा ध्यान दिनुपर्ने बताए । ‘आयातमुखी अर्थतन्त्रमा परिणत भएकाले घाटा निरन्तर बढदै गएको छ,’ ओझाले भने, ‘निर्यात वृद्धि र आयात प्रतिस्थापन गर्ने ठोस कार्यक्रम नै छैन ।’

आयातमा वीरगन्ज भन्सार अगाडि
सबैभन्दा बढी वीरगन्ज भन्सार नाकाबाट आयात भएको छ । तथ्यांकअनुसार यो भन्सार नाकाबाट ४ खर्ब ८ अर्ब ८ करोडको आयात भयो । यस्तै भैरहवा भन्सार नाकाबाट १ खर्ब ९९ अर्ब ३५ करोड, विराटनगरबाट १ खर्ब ४४ अर्ब ३६ करोडको आयात भएको उल्लेख छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट १ खर्ब ३१ अर्ब १५ करोड रुपैयाँको आयात भएको उल्लेख छ ।

विराटनगरबाट निर्यात धेरै
तथ्यांकअनुसार निर्यात हुने नाकामा विराटनगर भन्सार कार्यालय अगाडि छ । विराटनगर भन्सार कार्यालयबाट २३ अर्ब १६ करोड रुपैयाँको निर्यात भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयबाट १९ अर्ब ५८ करोड, वीरगन्जबाट १६ अर्ब ८१ करोडको निर्यात भएको उल्लेख छ । मेची नाकाबाट ८ अर्बको निर्यात भएको छ । यीबाहेक अन्य नाकाबाट निर्यात नगन्य रूपमा भएको विभागको तथ्यांकमा उल्लेख छ ।

-कान्तिपुरबाट

२०७६ जेठ ११ गते शनिवार ०९:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु