"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

कामको खोजीमा विदेश जाने नेपाली घटे, रेमिट्यान्स २० प्रतिशत बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा विदेशबाट आउने रेमिट्यान्स २० प्रतिशतले बढेको छ। केन्द्रिय बैंकले सार्वजिनक गरेको तथ्यांकअनुसार साउनदेखि चैतसम्म ६ खर्ब ५३ अर्ब नेपाली रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ।

अघिल्लो वर्षको यही अवधिमा ५ प्रतिशतले बढेर ५ खर्ब ४० अर्ब भित्रिएको थियो। अमेरिकी डलरमा भने रेमिट्यान्स ९ प्रतिशतलेमात्र बढेको छ। जुन अघिल्लो वर्ष पनि यत्तीले नै बढेको थियो।

रेमिट्यान्समा बृद्धि भएपनि यो वर्ष कामको खोजीमा विदेशीने नेपालीको संख्यामा भने गिरावट आएको छ। अघिल्लो वर्षको तुलनामा ३९ प्रतिशतले कामदार घटेका छन्।

अघिल्लो वर्षको नौ महिनामा २ लाख ८१ हजार नेपाली कामको खोजीमा विदेशिएका थिए भने यो वर्ष १ लाख ७० हजार नेपालीमात्र बाहिरिएका छन्।

महँगी दर घट्यो

महँगी अर्थात मूल्यबृद्धि दर अघिल्लो वर्षको तुलनामा घटेको छ। राष्ट्र बैंकका अनुसार चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.४ प्रतिशत रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ५.३ प्रतिशत रहेको थियो। चैत महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.८ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा उक्त समूहको मुद्रास्फीति ४.७ प्रतिशत रहेको थियो।

समीक्षा अवधिमा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.७ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति ५.८ प्रतिशत रहेको थियो।

क्षेत्रगत उपभोक्ता मुद्रास्फीति हिमालमा ६.२ प्रतिशत, पहाडमा ४.८ प्रतिशत, काठमाडौं उपत्यकामा ४.७ प्रतिशत र तराईमा ४.० प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति क्रमशः ७.० प्रतिशत, ६.० प्रतिशत, ४.३ प्रतिशत र ५.७ प्रतिशत रहेको थियो।

नेपालको तुलनामा भारतको मूल्यबृद्धिदर न्यून छ। भारतको मुद्रास्फिफिति २.९२ प्रतिशत रहेको छ।

  • रासस

२०७६ जेठ ६ गते सोमवार १२:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु