सामाजिक न्याय र दिगो विकास लक्ष्य हासिल गर्ने बजेट बन्छ : अर्थमन्त्री

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सामाजिक न्यायसहितको समावेशी विकास र दीगो विकासका लक्ष्य हासिल गर्ने गरि बजेट तर्जुमा हुने बताएका छन् ।
आत्मनिर्भर अर्थतन्त्रको निर्माण गरी सन् २०३० अगावै दिगो विकासका लक्ष्यहरु हासिल गर्दे मध्यम आय भएको मुलुकमा स्तरोन्नती हुने तर्फ बजेट लक्षित हुने उनले स्पष्ट पारे ।
त्यसैगरी आगामी आर्थिक वर्षलाई वृक्षारोपण वर्षको रुपमा परिचालन गरिने भएको छ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश योजनाको साथै चालु आर्थिक वर्ष सुरु गरेका कार्यक्रमको निरन्तरतालाई बजेट तर्जुमाको आधार बनाइएको खतिवडाले बताए ।
भुकम्पपछिको पुर्ननिर्माणको काम सम्पन्न गर्ने, कर प्रशासनमा सुधार, कर प्रणालीलाई पारदर्शी बनाउने तथा करको सदुपयोग, अन्तराष्ट्रिय सहयोगलाई राष्ट्रिय आवश्यकता र प्राथमिकताको क्षेत्रमा परिचालन गर्ने तथा प्रदेश र स्थानीय तहको समतामुलक विकास हुने ढंगले स्रोत साधनको बाँडफाँड गरिने उनले जानकारी दिए ।
वित्तिय संघीयता कार्यान्वयनका लागि आवश्यक प्रणाली र संरचना निर्माण गर्नुपरेका कारण बजेट खर्चले अपेक्षित गति लिन नसकेको स्वीकार्दै उनले बजेट अनुशासन कायम गरिएको दाबी गरे । मुलुकभित्र लगानीको वातावरण अनुकुल बनाउन गरिएको प्रयासले उच्च परिमाणमा आन्तरिक तथा बाह्य लगानी परिचालनको अवसर श्रृजना भएको दाबी सरकारले गरेको छ ।
लगानी मैत्री कानुन र संरचना तयार भएको, काम र रोजगारीमा वृद्धि, सबैको लागि सामाजिक सुरक्षा, आधारभूत शिक्षा र स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउने कामहरु उल्लेख्य रुपमा अघि बढेको उनले बताए ।
उनले लगानीको वातावरणमा सुधार आउनुको साथै स्वदेशी र विदेशी लगानीको प्रतिवद्धता बढेको, वित्तिय सेवा र पहुँच विस्तार भएको, वित्तिय साधन उत्पादनमुखी हुँदै गएको, वस्तु आयात बढेपछि निर्यात क्षेत्र सुधारउन्मुख भएको, विदेशी मुद्रा संचिती सुविधाजनक रहेको बताए ।
आगामी आइतबार र सोमबारको बैठकमा आर्थिक वर्ष २०७६/७७ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा ९कर प्रस्ताव बाहेक० छलफल गरिने भएको छ । प्रतिनिधिसभाको अर्को बैठक बैशाख २९ गते ११ बजेका लागि बोलाइएको छ ।
२०७६ वैशाख २८ गते शनिवार १५:२७ बजे प्रकाशित