आर्थिक वर्ष २०७५/७६ विवरण : ९४९ अर्बको आयात हुँदा ६१ अर्बको निर्यात
व्यापार घाटा २४.५ प्रतिशत बढ्यो, भारत र चिनसंग धेरै व्यापार घाटा
काठमाडौं । आर्थिक वर्ष २०७५/७६ को आठ महिनामा कुल वस्तु व्यापार घाटा ८ खर्ब ८७ अर्ब ८८ करोड पुगेको छ । यो २४।५ प्रतिशतले विस्तार भएको हो ।
फागुन मसान्तसम्म निर्यात-आयात अनुपात ६.५ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ७।० प्रतिशत रहेको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार निर्यात आयात मूल्य सूचकाङ्क २०७५ फागुन महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क वाषिर्क बिन्दुगत आधारमा १।५ प्रतिशत र आयात मूल्य सूचकाङ्क ४।३ प्रतिशतले बढेको छ ।
०७४ फागुन महिनामा ४.२ प्रतिशतले घटेको व्यापारको शर्त समीक्षा महिनामा २.७ प्रतिशतले घटेको छ ।
आर्थिक वर्ष २०७५/७६ को आठ महिनामा कुल वस्तु आयात २३.८ प्रतिशतले बढेर ९४९ अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २२.० प्रतिशतले बढेको थियो ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात २२.० प्रतिशत, चीनबाट भएको आयात ३७.८ प्रतिशत र अन्य मुलुकबाट भएको आयात २०.८ प्रतिशतले बढेको छ ।
आर्थिक वर्ष २०७५/७६ को आठ महिनामा कुल वस्तु निर्यात १४.६ प्रतिशतले वृद्धि भएर ६१ अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १०.८ प्रतिशतले वृद्धि भएको थियो । भारततर्फ २६.३ प्रतिशत र अन्य मुलुकतर्फ १.३ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ २७.६ प्रतिशतले कमी आएको छ ।
वस्तुगत आधारमा पोलिष्टर यार्न, जस्तापाता, जुटका सामान, ऊनी गलैंचा, दाल लगायतका वस्तुको निर्यात बढेको छ भने अलैची, जुत्ता तथा चप्पल, प्रशोधित छाला, तयारी पोशाक, रोजिन लगायतका वस्तुहरुको निर्यात घटेको छ ।
वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, तयारी पोशाक, एम।एस। बिलेट, हवाईजहाज तथा पार्टपुर्जा, विद्युतीय सामाग्री लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, कच्चा भटमासको तेल, स्वास्थ्य उपकरण तथा औजार, सुपारी लगायतका वस्तुहरुको आयात घटेको छ ।
भन्सार नाकाका आधारमा निर्याततर्फ रसुवा भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय र सुख्खा बन्दरगाह भन्सार कार्यालयहरु बाहेकका ठूला भन्सार नाकाहरूबाट गरिएको निर्यातमा वृद्धि भएको छ ।
आयाततर्फ भने सबै नाकाहरुबाट भएको आयातमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७५/७६ को आठ महिनामा कुल वस्तु व्यापार घाटा २४.५ प्रतिशतले विस्तार भई ८८७ अर्ब ८८ करोड पुगेको छ ।
–रासस
२०७६ वैशाख ४ गते बुधवार १९:३४ बजे प्रकाशित