उपभोक्तालाई जानकारी : टेलिकमले ल्यायो ‘विन्टर अफर’, १२ रुपैयाँमा ४ सय एमबी
काठमाडौं । नेपाल टेलिकमले विभिन्न प्याकेज सहितको आकर्षक विन्टर अफर (Winter Offer) उपलब्ध गराएको छ । उक्त अफर अन्तर्गतको सेवा कम्पनीको वार्षिकोत्सव (२०७६ माघ २२ गते) देखि नै लागू भइसकेको छ र आगामी चैत ३० गतेसम्म उपयोग गर्न सकिने छ । यो भन्दा पहिले उपलब्ध अटम अफर (Autumn Offer) अन्तर्गतका सेवाहरुमा केही थप सुविधा तथा नयाँ प्याकेज समेत उपलब्ध गराएर विन्टर अफर ल्याइएको छ । जीएसएम प्रिपेड÷पोष्टपेड तथा सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा यी अफर प्रयोग गर्न सकिन्छ ।
अल टाइम डाटा प्याक अन्तर्गत १५ रुपैयाँ देखि ७ सय रुपैयाँसम्मका प्याक उपलब्ध छन् । यस अन्तर्गत ६० एमबी देखि १४ हजार एमबी सम्मका प्याकेज खरिद गर्न सकिने छ । यी प्याकेज प्रयोग गर्न सकिने समयावधि पनि १ दिन देखि २८ दिनसम्म हुनेछ ।
डे डाटा प्याक
बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म प्रयोग गर्न सकिने डे डाटा प्याक अन्तर्गत अब १५ रुपैयाँमा २ सय एमबी डाटा प्रयोग गर्न सकिने छ । साथै १० रुपैयाँमा ८० एमबी डाटा समेत प्रयोग गर्न सकिने छ । यी दुबै डाटा प्याक खरिद गरेको २४ घण्टाभित्र चलाउन सकिने छ ।
बेलुकी ११ बजेदेखि विहान ६ बजेसम्म चलाउन सकिने नाइट डाटा प्याक १२ रुपैयाँमा ४ सय एमबी खरिद गर्न सकिने छ । अनलिमिटेड नाइट डाटा प्याक अन्तर्गत १ रातको १८ रुपैयाँ र ७ रातको ९० रुपैयाँमा प्याक उपलब्ध गराइएको छ ।
सोसियल मिडिया प्याक अन्तर्गत सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र ट्वीटर चलाउन सकिने छ । यस अन्तर्गत १० रुपैयाँमा ७० एमबी डाटा १ दिन, ३५ रुपैयाँमा २ सय ५० एमबी डाटा ३ दिन र ६५ रुपैयाँमा ६ सय एमबी डाटा ७ दिनका लागि उपलब्ध हुनेछ । यी प्याक जुनसुकै समयमा पनि चलाउन सकिने छ ।
युट्युब चलाउन १ दिन, ३ दिन र ७ दिन समयावधिका लागि प्याक लिन सकिन्छ । यी प्याक क्रमशः १५ रुपैयाँ, ३० रुपैयाँ र ६० रुपैयाँमा खरिद गर्न सकिन्छ । यसका लागि डाटा भोल्युम क्रमशः ३ सय, ६ सय ५० र १ हजार ४ सय एमबी प्राप्त हुन्छ ।
डे टाइम भ्वाइस प्याक अन्तर्गत अब १५ रुपैयाँमा बिहान ५ देखि बेलुकी ५ बजेसम्म कल गर्न सकिने छ । त्यसैगरी १० रुपैयाँमा १ सय मिनेटको भ्वाइस प्याक प्रयोग गर्न सकिन्छ । यी प्याक २४ घण्टाभित्र उपयोग गर्न सकिने छ ।
जीएसएम पोष्टपेडका लागि विभिन्न प्रकारको प्याक उपलब्ध भइरहेकोमा अब ३ सय रुपैयाँको नयाँ प्याक समेत थप गरिएको छ । यस अन्तर्गत ६ सय २० मिनेट भ्वाइस वा ३ हजार एमबी डाटा लिन सकिन्छ । सो प्याक ३० दिनभित्र प्रयोग गर्न सकिन्छ ।
नयाँ प्याकका रुपमा कम्पनीले बिग डाटा प्याक समेत उपलब्ध गराएको छ । यस अन्तर्गत १ हजार ६ सय रुपैयाँमा ९० दिनका लागि ३० जीबी र ३ हजार रुपैयाँमा १ सय ८० दिनका लागि ६० जीबी डाटा खरिद गर्न सकिन्छ ।
२०७६ माघ २६ गते आइतवार २०:५४ बजे प्रकाशित