बाजुरामा मौसमी फ्लुको सङ्क्रमणले ३० विद्यार्थी एकैसाथ बिरामी

बाजुरा । मौसमी फ्लुको सङ्क्रमणबाट हिमाली गाउँपालिकामा ३० विद्यार्थी एकैसाथ बिरामी परेका छन् । वडा नं ६ धुलाचौरमा रहेको एन्जल इङ्लिस बोर्डिङ स्कूलमा अध्ययन गर्ने विद्यार्थी बिरामी परेका प्रिन्सिपल दिनेश सागरले जानकारी दिए।
विद्यालयमा अध्ययन गर्ने १०० विद्यार्थीमध्ये ३० बिरामी परेका छन् । तीमध्ये तीन सिकिस्त बिरामी छन् । तीन दिनदेखि विद्यालयमा सङ्क्रमण फैलिएको सागरले बताए। शुरुमा दुई जनामा फैलिएको र तीन दिनमै ३० मा सङ्क्रमण देखिएको बताइएको छ । एकैसाथ ठूलो सङ्ख्यामा विद्यार्थी बिरामीले थला परेपछि विद्यालय नै बन्द गरिएको छ ।
धुलाचौर स्वास्थ्य एकाइमा उपचार गराउँदा बिरामीलाई एक–अर्कासँग सम्पर्क नगराउन र आरामसहित उपचारमा राख्न सुझाव दिइएको छ ।
बिरामी विद्यार्थीमा शुरुमा ज्वरो आउने र पछि वान्ता पनि सँगै हुने तथा उठ्न नसक्ने लक्षण देखिएको छ ।
२०७६ माघ १८ गते शनिवार १३:२४ बजे प्रकाशित