सरकारलाई दर्ता नभई अस्पताल घोषणा गर्न हतारो, यन्त्र छ तर सुविधा पाउँदैनन् उपभोक्ता
काठमाडौं । प्रदेश नं ३ सरकारले अस्पताल स्वीकृत नगरी प्राथमिक स्वास्थ्य केन्द्रलाई ‘अस्पताल’ घोषणा गरेको पाइएको छ । उपभोक्ताले पाउनुपर्ने सेवा पाउन नसकेपछि सो विषय जानकारी भएको हो ।
गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित गोकर्णेश्वर महादेव मन्दिर नजिकै सञ्चालित प्राथमिक स्वास्थ्य केन्द्रलाई गत असार १६ गते ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले १५ शय्यासहितको प्राथमिक अस्पताल घोषणा गरेका थिए । हाल नगरपालिकाअन्तर्गत सञ्चालन भएको अस्पताल भनेर बोर्ड राखिएको छ तर सेवा भने दिन सकेको छैन ।
अस्पतालमा पाइने सेवा पाउन नसकिएको नगरपालिकाकै दुर्गमस्थल तारेभीरबाट स्वास्थ्य सेवा लिन आएका सेवाग्राही सोमबहादुर तामाङले गुनासो गरे । तारेभीरमै नगरपालिकाको पहलमा निर्माण भएको सहरी स्वास्थ्य सेवा केन्द्र भएकाले सेवा लिन आएको तर सेवा पाउन नसकिएको उनको दुःखेसो थियो । नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्याय प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जग्गा भवन नभई रु ५० लाख बजेट दिएर अस्पताल घोषणा गरिए पनि सेवा दिन नसकिएको स्वीकार्छन । अस्पताल दर्तासमेत हुन नसकेको उनले जानकारी दिए । स्वास्थ्य मन्त्रालयलगायत निकायमा अस्पताल दर्ताका लागि पहल गरिएको नगरपालिकाले जनाएको छ । विसं २०२८ मा स्थापना भएको स्वास्थ्य भवनमा सबै सेवा सञ्चालन हुन सक्ने अवस्था छैन । भवन बनाउन जग्गाको खोजी भइरहेको छ । प्राथमिक स्वास्थ्य केन्द्र नै चलाउन पनि भवनका कारण समस्या रहेको स्वास्थ्य शाखा प्रमुख उपाध्यायले बताए।
२०७६ पुस ११ गते शुक्रवार १८:२५ बजे प्रकाशित