विद्यालयमा पिउने पानीको अभाव, गाउँमा पानी मागेर पिउन बाध्य छन् विद्यार्थी
जाजरकोट । पाँच सयभन्दा बढी विद्यार्थी रहेको भेरी नगरपालिका–११ जगतीपुरस्थित शिवशङ्कर माध्यमिक विद्यालयमा पिउने पानी विद्यार्थीले घरबाट ल्याउने गरेका छन् । विद्यालयमा पिउने पानी नहुँदा विद्यार्थीले दैनिक घरबाट बोतलमा पानी लिएर आउने गरेको वडाध्यक्ष भवानीप्रसाद शर्माले बताए । आफ्नो वडाभित्र पानीको मुहान नभएका कारण विद्यालयमा पानी ल्याउन नसकिएको हो ।
खानेपानीको मुहान नभएका कारण विद्यालयमा पानी आपूर्ति गर्न नसकिएको वडाध्यक्ष शर्माले बताए । उनले भने, “विद्यालयमा खानेपानी ल्याउने इच्छा त छ नि ? तर हाम्रो सानो बजेटले त्यो अर्को वडाबाट पानी ल्याउन सम्भावना छैन ।” गाउँमा समेत खानेपानीको हाहाकार छ । “गाउँदेखि तल रहेको सानो पानीको मुहानबाट पानी ल्याउन आधा घण्टा लाग्छ”, स्थानीयवासी रामबहादुर आचार्यले गुनासो गरे ।
विद्यार्थीहरुले लिएको पानीसमेत सकिँदा तिर्खा लागेर हैरान हुने गरेको पीडा सुनाउँछन् । “नजिक घर भएका साथीको घरबाट थप पानी ल्याउनुहुन्छ, नभएका गाउँमै गएर पानी मागेर पिउने गर्दछन्”, कक्षा ७ मा अध्ययनरत छात्रा गीता आचार्यले भने, “दैनिक पानी मागेर पिउँदा दिक्क लाग्ने गर्दछ, गाउँलेले पनि टाढाबाट बोकेर ल्याएको पानी सधैँ दिँदा दिक्क मान्छन् होला ।”
पानी र शौचालयलगायतका समस्याले गर्दा विद्यार्थी आधा समय मात्र विद्यालयमा बस्ने गरेको शिक्षक बताउँछन् ।
२०७६ पुस ५ गते शनिवार १६:२१ बजे प्रकाशित