अर्जुनधारामा विपन्न परिवारको लागि भूकम्प प्रतिरोधात्मक घर बन्दै
इलाम । विपन्न परिवारका लागि अर्जुनधारा नगरपालिकामा ३३ घर निर्माणको काम शुरु भएको छ । लक्षित वर्ग कार्यक्रमअन्तर्गत प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयको शहरी विकास तथा भवन कार्यालय इलामले घर निर्माणको काम शुरु गरेको हो ।
लक्षित वर्ग कार्यक्रमअन्तर्गत बन्ने उक्त बन्न लागेको घर भूकम्प प्रतिरोधात्मक हुनेछ । एउटा घर निर्माणका लागि रु तीन लाख २५ हजार खर्च हुने भएको छ ।
घर निर्माणका लागि रु एक करोड नौ लाख ७२ हजार ५०० बजेट विनियोजन भएको प्रदेश नं १ का प्रदेशसभा सदस्य वृख प्रधानले बताए ।
आर्थिक वर्ष २०७६/७७ को सङ्घीय सरकारद्वारा विनियोजित बजेटबाट २८ र प्रदेश सरकारबाट पाँच गरी अर्जुनधारा नगरपालिकाभित्र ३३ घर निर्माणको काम शुरु भएको उनले जानकारी दिए ।
२०७६ मंसिर २० गते शुक्रवार १०:२५ बजे प्रकाशित