‘कतिपय कार्यालयले कलम र कागज किन्ने पैसा छैन भन्दै सेवा नै बन्द गरेछन्, यहाँभन्दा गैरजिम्मेवारीपन अर्को हुन सक्दैन् : कृषिमन्त्री
काठमाडौँ। कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले शून्य बजेट भएकै कारण सेवा बन्द गर्ने कार्य आपत्तिपूर्ण रहेको बताएका छन् ।
पशु सेवा विभागले बुधबार राखेको वार्षिक समीक्षा गोष्ठीमा मन्त्री भुसालले जनतालाई दिने सेवा बन्द गर्नु आपत्तिपूर्ण रहेको बताए ।
मन्त्री भुसालले भने, ‘कतिपय कार्यालयले कलम र कागज किन्ने पैसा छैन भन्दै सेवा नै बन्द गरेछन् । यहाँभन्दा गैरजिम्मेवारीपन अर्को हुन सक्दैन् ।’
मन्त्री भुसालले शून्य बजेटलाई खुलाउने प्रयास भइरहेको भन्दै यसमा थप चिन्तित नहुन आग्रह गरे । जनताको सेवालाई प्रभावकारी ढंगले अगाडि बढाउन निर्देशन दिँदै मन्त्री भुसालले समस्या राख्ने मात्र नभई समाधानको उपायसमेत खोज्नुपर्नेमा जोड दिए ।
मन्त्री भुसालले सेवा बन्द गर्ने कर्मचारीलाई कारबाही हुने चेतावनी दिए । कुन कार्यालयले सेवा बन्द गरेको हो त्यसको यथार्थ विवरण पेश गर्न पशु सेवा विभागलाई उनले निर्देशन समेत दिए ।
यस्तै मन्त्री भुसालले लम्पी स्किन रोगबाट प्रभावित भएका किसानलाई राहत दिने तयारी भइरहेको बताए।
२०८० साउन १७ गते बुधवार २०:०४ बजे प्रकाशित