नक्कली भूटानी प्रकरणमा बयान सुरू
काठमाडौँ जिल्ला अदालतमा नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका अभियुक्तमाथि बयान सुरु भएको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आजदेखि बयान सुरू भएको हो ।
बयानका क्रममा आज केशव दुलाल र सागर राईको बयान लिइएको छ । अरू आरोपितको बयान क्रमशः हुँदै जानेछ । अब आइतबार पनि बयान जारी रहनेछ । नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको ठगी प्रकरणमा पक्राउ परेका दुलाल यो ठगी प्रकरणका मुख्य बिचौलिया रहेको पाइएको छ । पूर्ववडाध्यक्षसमेत रहेका राई पनि यो ठगी प्रकरणमा बिचौलिया रहेको खुलेपछि पक्राउ गरिएको थियो । उक्त प्रकरणमा सरकारी वकिल कार्यालयले ३० जनाविरुद्ध मुद्दा दर्ता गरेको थियोे ।
तीमध्ये मुद्दा दर्ता गर्दासम्म १६ प्रकाउ परेका थिए । आज एकजना फरार अभियुक्त लक्ष्मी महर्जन पक्राउ परेका छन् । महर्जनसहित १६ जना अभियुक्त प्रकाउ भएका छन् । अझै १३ जना अभियुक्त फरार छन । फरार अभियुक्तविरूद्द पनि अदालतमा मुद्दा दर्ता गरिएको छ । अदालतमा उक्त प्रकरणका अभियुक्तको बयानपछि थुनछेक बहस हुनेछ । अभियुक्त थुनछेक बहसपछि धरौटीमा थुनामुक्त हुने वा थुनामा पठाउने निर्णय अदालतले गर्नेछ ।
२०८० जेठ १२ गते शुक्रवार १९:२९ बजे प्रकाशित