"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

तीन महिनामा तीन अर्बभन्दा धेरैको फलफूल आयात

काठमाडौ । नेपालको उत्तरी हिमाली क्षेत्रका विभिन्न स्थानमा स्याउ फल्छन् । हावापानी पनि रसिलो स्याउ फल्ने खालकै छ । मनाङ, मुस्ताङ, जुम्ला, मुगुलगायतका जिल्लाका किसानले उत्पादन गरेको स्याउले बजार पाउन सकेको छैन ।

बजार पुगेको भए पनि सस्तोमा बिक्री गर्न बाध्य छन् उत्पादक । देशभित्रै फलाउन सकिने र राम्रो बजार पाउने रसिलो, स्वादिलो स्याउ फलाउने जनशक्ति रोजगारीको खोजीमा विदेशिएको छ ।

सरकारी निकायले पनि यसमा विशेष ध्यान दिन नसक्दा स्याउमा मुलुक आत्मनिर्भर बन्न सकेको छैन । देशभित्रै अर्बौं मूल्य बराबरको स्याउ फलाउने र विदेशसमेत बिक्री गर्न सकिने अपार सम्भावना रहेको भए पनि तारतम्य भने मिल्न सकेको छैन ।

भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार नेपालीले स्याउ आयातका लागि मात्रै रु दुई अर्बभन्दा बढी खर्च गरेका छन् । विभागका अनुसार चालू आवको असोज मसान्तसम्म रु दुई अर्ब २४ करोड ९६ लाख ३९ हजार मूल्य बराबरको तीन करोड चार लाख ४७ हजार केजी स्याउ आयात भएको छ । त्यसबाट सरकारले रु २८ करोड पाँच लाख ८५ हजार बराबरको राजस्वसमेत सङ्कलन गरेको छ ।

उत्तरी नाका बन्द हुँदा त्यस अवधिमा भारतबाट सबैभन्दा धेरै स्याउ भित्रिएको विवरणमा उल्लेख छ । भारतबाट मात्र रु एक अर्ब ४९ करोड २४ लाख ४९ हजार मूल्य बराबरको स्याउ आयात भएको छ । त्यस्तै चीनबाट रु ७५ करोड ७१ लाख ८९ हजार मूल्यमा ७८ लाख ६८ हजार सात सय ९८ केजी स्याउ आयात भएको छ ।

विभागको विवरणानुसार नेपालमै उत्पादन गर्न सकिने कृषिउपज, फलफूलसमेत अत्यधिक आयात भइरहेका छन् । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा देशमा रु तीन अर्बभन्दा बढी रकमका ताजा तथा सुकेका फलफूल आयात भएको विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

यस्तै चालू आवको असोज मसान्तसम्म रु २९ करोड ७६ लाख ५६ हजारका २८ लाख ७१ हजार एक सय ७६ केजी ताजा अनार आयात भएको देखिन्छ । त्यसबाट सरकारले रु तीन करोड ७२ लाख ६९ हजार राजस्व सङ्कलन गरेको छ ।

२०७९ कात्तिक १४ गते सोमवार १८:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु