अखाद्य वस्तुको बिक्रीवितरण रोक्न सरकार प्रतिबद्ध: गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले उद्योगी, व्यवसायी उपभोक्ताको हितप्रति संवेदनशील बन्नुपर्ने बताउनुभएको छ ।
विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा आज वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र काठमाडौँ महानगरपालिकाद्वारा आज आयोजित कार्यक्रममा उहाँले व्यवसायी पनि कुनै वस्तुको उपभोक्ता भएकाले उपभोक्ताको हितप्रति सबै पक्ष गम्भीर बन्नुपर्ने बताउनुभएको हो ।
गृहमन्त्री खाँणले उपभोक्ता अधिकार स्थापित गराउन सरकार गम्भीर रहेको उल्लेख गर्दै अखाद्य वस्तुको बिक्रीवितरण रोक्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले अखाद्य वस्तुको उपभोगमा उपभोक्ता स्वयम् सचेत हुनुपर्नेमा जोड दिनुभयो । संविधान, ऐन कानुनमा भएका उपभोक्ता अधिकारसँग सम्बन्धित प्रावधानको कार्यान्वयन गर्न सरकारपछि नपर्ने बताउँदै उहाँले उद्योगी व्यवसायीलाई पनि जनताप्रति उत्तरदायी बन्न आग्रह गर्नुभयो ।
“व्यवसायी पनि कुनै न कुनै रुपमा उपभोक्ता नै हुनुहुन्छ, सरकार उद्योगी व्यवसायीलाई हतोत्साहित गर्न चाहँदैन, व्यवसायी पनि उपभोक्ताको हितप्रति संवेदनशील हुने विश्वास गरेको छु”, उहाँले भन्नुभयो । गृहमन्त्री खाँणले दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दा उपभोक्तामा मार परेकामा सरकार जानकार रहेको उल्लेख गर्दै सरकारले उपभोग्य वस्तुको मूल्यलाई नियन्त्रणमा राख्न अधिकतम पहल गरिरहेको जानकारी दिनुभयो । “मूल्यवृद्धिको प्रमुख कारकका रुपमा पेट्रोलियम पदार्थको मूल्य रहेको छ, सरकारले पेट्रोलियम पदार्थको मूल्यलाई पनि सकेसम्म नियन्त्रणमा नै राखेको छ”, उहाँले भन्नुभयो, “व्यापार घाटा न्यूनीकरण र आयात निरुत्साहित गर्नेमा सरकारको ध्यान गएको छ ।”
गृहमन्त्री खाँणले मुलुकको व्यापार घाटाको ठूलो हिस्सा पेट्रोलियम पदार्थ रहेको बताउँदै विद्युतीय उपकरणको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय उत्पादनको प्रयोगलाई बढवा दिन नागरिक सचेतना बढाउनुपर्ने र यसमा उपभोक्ता अधिकारकर्मीको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । ्
प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमल श्रीवास्तवले उपभोक्ता अधिकार प्रत्याभूत गराउन सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । उपभोक्ता स्वयम् सचेत नहुँदासम्म उपभोक्तामाथिको ठगी नरोकिने भन्दै उहाँले उपभोक्ता सचेतना बढाउनुपर्नेमा जोेड दिनुभयो ।
त्यसैगरि कञ्जुमर आई नेपालकी अध्यक्ष विमला खनालले पेट्रोलियम पदार्थमा सरकारले विभिन्न वहानाका उपभोक्तालाई करको भारी बोकाईरहेको वताउनुभएको छ ।अहिले मुल्य आकाशि रहेको वेला कर घटाएर मुल्य नियन्त्रण गरि उपभोक्तालाई राहत दिनुपर्ने उहाँले बताउनुभयो । अध्यक्ष खनालले सरकारले बजारको मुल्य नियन्त्रण गर्नु पर्नेमा दुधको मुल्यबृद्धि गर्नुको साथै सार्वजनिक यातायातको भाडा वढनएको बताउनुभयो ।
उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले उपभोक्ता अदालत गठन गरेर उपभोक्ताको अधिकार संरक्षण गर्नुपर्ने बताउनुभयो । स्थानीय तहमा उपभोक्ता सूचना केन्द्र स्थापना गर्न उहाँले सुझाव दिनुभयो । नेपाल चेम्बर अफ कमर्शका प्रतिनिधि देवेन्द्रभक्त श्रेष्ठले बजार अनुगमनका क्रममा नियमकानुन मात्र नहेरी व्यवहारिक पक्षको पनि ख्याल गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले व्यवसायीका सामान जफत गरेर नष्ट गरिनुभन्दा पनि उपभोग्य मिति सकिएका खाद्य वस्तु सम्बन्धित उद्योगीले फिर्ता लैजाने वतावरण बनाइदिनुपर्ने बताउनुभयो ।
२०७८ चैत १ गते मंगलवार २०:१६ बजे प्रकाशित