"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

सरकारले लगाएको केराउ, मरिच छोकडाको प्रतिवन्ध तत्काल हटाउनु पर्ने अध्यक्ष खनालको माग

काठमाडौं । कञ्जुमर आई नेपालद्वारा आयोजना गरिएको केराउ ,मरिच, छोगडा लगायतका वस्तुमा लगाईएको प्रतिवन्ध र उपभोक्ता अधिकार विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । सोमवार उद्योग ,वाणिज्य श्रम तथा उपभोक्ता संवन्ध संसदीय समितिका सभापति माननीय विमल श्रीवास्तव ज्यूको प्रमुख आतिथ्यता एवं कञ्जुमर आई नेपालका अध्यक्ष श्री विमला खनालको अध्यक्षतामा संपन्न भएको हो।

‘कन्जुमर आई नेपाल’ ले चरम बजार महँगी र कालोबजारीमा पनि सरकारले मौनता साधेको भन्दै विरोध जनाएको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै संस्थाले पछिल्लो समय बजारमा मनलाग्दी बढेको खाद्य वस्तुमा अखाद्य वस्तुको मिश्रण बढेको र उपभोक्ताले थेग्नै नसक्नेगरी महङ्गी बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो ।

आम उपभोक्ताहरूको दैनिक जीवन र स्वास्थ्यजस्तो गम्भिर विषयसँग जोडिएको बजार मनलाग्दी ढंगले बढ्दा पनि सरकारले देखेको नदेखे झैं गरेको कन्जुमर आई नेपालको आरोप छ । ‘यहाँ के चीजमा महङ्गी छैन ? कुन वस्तुमा मिसावट छैन ? सब–सब उपभोग्य वस्तुहरु उपभोग विपरित छ । यसरी उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्न पाइन्छ ?’ कन्जुमर आई नेपालकी अध्यक्ष विमला खनालले प्रश्न गरिन्, ‘खोइ सरकार कहाँ छ ?’

सोही कार्यक्रममार्फत अध्यक्ष खनालले उपभोग्य खाद्यवस्तु केराउ, मरिच तथा छोकडामा सरकारले आयात प्रतिबन्ध लगाएर कार्टेलिङ गरेको आरोप लगाइन् । विश्व व्यापार संघ (डब्लूटीओ) को सदस्य राष्ट्र समेत रहेको नेपालले यसरी वस्तु आयातमा प्रतिबन्ध लगाउनु कानुन विपरित रहेको उनको आरोप छ । तर संसदीय समिति उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण समितिका सभापति बिमल श्रीवास्तवले उक्त आरोपको ठाडै अस्वीकार गरे ।

त्यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत श्रीराम न्यौपानेले अनुगमनका क्रममा बजारमा खाद्य स्वच्छता कायम नभएको खाद्य ऐन अनुसारको लेवल पनि नराखिएको पाईएको बताएका थिए ।

त्यसैगरी वाणिज्य ,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका विरेन्द्र वहादुर माझीले बजारमा थुप्रै विकृति र विसंगति छन्। त्यसैले गर्दा उपभोक्ता मारमा परेका छन्। केराउ मरिच छोकडा पैठारी समस्या समाधान गर्न यस कार्यक्रमले बाटो खुल्न सक्ने धारणा राखेका थिए ।

कार्यक्रममा विभिन्न संचारकर्मीहरूले आफ्नो जिज्ञासा राखेका थिए। कार्यक्रममा स्वागत मन्तव्य राख्दै कञ्जुमर आई नेपालका महासचिव रञ्जन शर्माले उपभोक्ता सरकारविहिन राज्य विहिन अवस्थामा पुगेको गुनासो राख्दै केराउ मरिच छोकडाको प्रतिवन्ध तत्काल हटनु पर्ने धारणा राखेका थिए भने कार्यक्रमको संचालन कञ्जुमर आई नेपाल काठमाडौं जिल्ला अध्यक्ष भुपराज न्यौपानेले गरेका थिए।

२०७८ कात्तिक १५ गते सोमवार १८:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु