"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

चाडपर्वलाई लक्षित गरेर ट्राफिक व्यवस्थापन योजना सार्वजनिक

काठमाडौं । ट्राफिक प्रहरीले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर ट्राफिक व्यवस्थापन योजना सार्वजनिक गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले नजिकिँदै गरेको बडादशैँ, तिहार तथा छठलगायतका पर्वलाई लक्षित गरेर चाडपर्व व्यवस्थापन विशेष सुरक्षा योजना सार्वजनिक गरेको हो । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले ट्राफिक प्रहरीको अधिकतम परिचालन, प्रभावकारी व्यवस्थापन, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यका साथ महाशाखाले चाडपर्व विशेष सुरक्षा योजना आजदेखि लागू गरेको जानकारी दिनुभयो ।

“चाडपर्वमा हुने सवारी चाप व्यवस्थापन, दुर्घटना न्यूनीकरण तथा यात्रुलाई पर्नसक्ने विभिन्न समस्यालाई सम्बोधन गरी सहज यात्राको प्रबन्ध मिलाउन सुरक्षा योजना लागू गरेका हौँ”, उहाँले भन्नुभयो । योजनाको प्रभावकारी व्यवस्थापन गर्न थप जनशक्ति परिचालन, जाँचमा कडाइ र नागरिक सहायता कक्ष स्थापना गरी सेवा प्रवाह गर्ने योजना रहेको उहाँको भनाइ थियो ।

उहाँले बसपार्क, टिकट काउण्टर र अन्य ठाउँमा हुने भीडभाडका कारण कोरोना सङ्क्रमण बढ्ने भन्दै त्यस्ता ठाउँमा ट्राफिक प्रहरी खटाएर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । ट्राफिक प्रहरीले चाडपर्वको समयमा हुने सवारी चाप व्यवस्थापन र दुर्घटना न्यूनीकरणका लागि जाँचलाई कडाइ पार्ने भएको छ । चाडपर्वमा रमाइलो गर्ने बहानामा मादक पदार्थ सेवन गरी सवारी चलाउनेको सङ्ख्या बढ्ने र दुर्घटना हुन सक्ने कुरालाई मध्यनजर गर्दै रात्रीकालीन मात्र नभई दिनको समयमा जाँचलाई कडाइ गरिने एसएसपी भट्टराईले बताउनुभयो ।

थानकोट, नागढुङ्गा, जगाती, फर्पिङ, साँखु, बालाजुबाइपास, मुड्खु, टोखालगायतबाट उपत्यका बाहिरिने सबै प्रकारका सवारी साधनलाई नाकामा कडाइका साथ जाँच गर्ने महाशाखाले जनाएको छ । महाशाखाले सार्वजनिक गरेको विशेष सुरक्षा योजनामा लामो दूरीका सवारी साधनमा अनिवार्य रुपमा दुईवटा चालक भए/नभएको एप्सबाट जाँच गर्ने बताएको छ ।

ट्राफिक प्रहरीले उपत्यकाका बढी भीडभाड हुने क्षेत्रलाई पहिचान गरी ट्राफिक जनशक्ति थप गर्ने जनाएको छ ।

२०७८ असोज ५ गते मंगलवार १३:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु