"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

राजधानीमा अझै उठेन फोहोर, फोहोरको थुप्रोबाट निस्किएको दुर्गन्धले हिँड्न नसकिने अवस्था

काठमाडौं । वाग्मती सफाइ महाअभियानको ४३५ औँ हप्तामा गुह्येश्वरीमुनिको नदी किनारमा सफाइ गरिएको छ । वाग्मती किनारमा जम्मा भएको फोहोर विगत दुई महिना अघिदेखि उठ्न नसक्दा नदीको बहाव क्षेत्र प्रदूषित हुने खतरा अझै बढेको छ । फोहर नउठ्दा आज सफाइ गरेर थुपारेको फोहोर फेरि नदीमै मिसिन थालको छ ।

अभियानकर्मीले सफाइ गरेर फोहर थुपार्ने तर उठाएर व्यवस्थापन नहुने क्रम चलेकाले नदी क्षेत्र प्रदूषित हुन थालेको हो । पानी परेका दिन बाढी फोहर बगाएर लैजाने गरे पनि नपरेका दिन नदीमा फोहर देखिन थालेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा।माला खरेलले जानकारी दिइन् ।

अधिकारसम्पन्न वाग्मती समितिका कर्मचारी र अभियानकर्मीको सक्रियतामा गुह्येश्वरी क्षेत्रको नदी किनारमा सफाइ गरिएको हो । सफाइमा कर्मचारी र अभियानकर्मी गरी १०० जनाभन्दा बढी सक्रियता थियो । सफाइबाट जम्मा भएको फोहर आज पनि किनारमै थुपारेर राखिएको छ । सफाइ महाअभियानले जम्मा पारेको फोहर काठमाडौँ महानगरपालिकाले व्यवस्थापन गर्दै आएकामा विगत दुई महिनाभन्दा लामो समयदेखि सिसडोल जाने सडक बिग्रिएको भन्दै उठेको छैन । दुई हप्ताअघि फोहर फेरि लैजान थालिएको भनिए पनि राजधानीका चोक, फुटपाथ, नदी किनारमा थुप्रो फोहर भेटिन्छ ।

फोहोरको थुप्रोबाट निस्किएको दुर्गन्धले हिँड्न नसकिने अवस्था भएको पैदल यात्रु रणेन्द्र श्रेष्ठको गुनासो छ । पुतलीसडकको फुटपाथमा फोहर थुपारिएकाले सडकबाट हिँड्नु परेको उनले गुनासो गरे । वाग्मती सफाइ महाअभियानले सफाइप्रति चेतना जागृत गरे पनि काठमाडौँ उपत्यकाका नदी अझै सफा हुन सकेको छैन । वर्षामा बाढीका कारण सफाइ देखिए पनि हिउँदमा नदी क्षेत्र दुर्गन्धित हुने गरेको छ ।

उपलब्धि कम भए पनि आठ वर्षदेखि सफाइ महाअभियान आज निरन्तर जारी छ । बिहान दुई घण्टा ‘देशका लागि स्वयंसेवा’ भन्ने नाराका साथ विसं २०७० जेठ ५ गतेदेखि सफाइ अभियान जारी छ । चाडपर्व, वर्षा, जाडो, भूकम्प, कोरोना महामारीजस्ता प्रतिकूल अवस्थामा पनि सफाइ अभियान हुँदै आएको छ ।

वाग्मती सफाइ महाअभियान सुरु भएसँगै यसका सहायक नदी सफाइ पनि जारी छ । उपत्यकामा २५ स्थानमा सफाइ भइरहेको छ । यसैगरी उपत्यकाबाहिरका मुख्य सहर, नदी र सांस्कृतिक सम्पदास्थलमा सफाइ भइरहेको छ । वाग्मतीसँगै आज गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमती, मनोहरा, ललितपुरको गोदावरी खोला, चक्रपथका उत्तरी र पश्चिम खण्डलगायत स्थानमा पनि सफाइ भएको छ ।

२०७८ भदौ २६ गते शनिवार १८:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु