रोल्पामा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित

रोल्पा । रोल्पाका विभिन्न गाउँमा बाँदरले आतङ्क मच्चाएको छ ।
जिल्लाका पश्चिम भेगस्थित माडी, गङ्गादेव र परिवर्तन गाउँपालिकामा बाँदरले आतङ्क मच्चाएको स्थानीवासीले बताएका छन् । बाँदरका कारण स्थानीयवासी निकै आतङ्कित बनेको परिवर्तत गाउँपालिका–६ ओहका मान्धोज पुन मगरले बताउनुभयो ।
यहाँका खेतबारीमा लगाएको मकै र फलफूल बाँदरले खाएपछि किसान चिन्तित बनेको उहाँको भनाइ छ । छ महिनासम्म दु:ख गरेर लगाएको बाली बाँदरले गाउँमै पसेर नोक्सानी गरिदिएको पुन मगरले जानकारी दिनुभयो । “घोगा लागेका मकै र फलफूल बाँदरले चिथोरेर सखाप बनाइदिएको छ”, उहाँले भन्नुभयो । बाँदरले बिरुवादेखि बोट हुँदै अहिले घोगा लागेका मकै पनि खाइदिएको उहाँको भनाइ छ ।
बाँदरको आतङ्ककै कारण स्थानीय बासिन्दा बसाइँ सर्न बाध्य छन् । खेतमा लगाएको बालीनाली र रुखका फलफूल मात्रै होइन, पकाएको खाना र बजारबाट किनेर ल्याएका सामानसमेत बाँदरले लग्ने गर्दा स्थानीयवासी आतङ्कित बनेका हुन् । बाँदरले स्थानीय बासिन्दालाई सहनै नसकिने गरी दु:ख दिन थालेपछि बसाइँ सर्ने अवस्था आएको स्थानीयवासी मनु बुढामगरको भनाइ छ । “साँझ घर आयो फेरि बिहानै उठेर बाँदर धपाउन खेतबारी पुग्नुपर्छ”, उहाँले भन्नुभयो, “हिउँदका समयमा सिँचाइको सुविधा छैन, उत्पादन पनि हुँदैन, वर्षे बालीको आशा हुन्छ तर बाँदर आएर त्यो पनि खाएर नष्ट गरिदिन्छन् ।”
पहिले पहिले पनि बाँदर आउने गरेको थियो तर अहिलेको जस्तो धेरै दु:ख दिने गरेको थिएन ज्येष्ठ नागरिक माकु चन्द्रकाले बताउनुभयो । “म बुढो मान्छे, बिहानै खेतमा जान्छु, बाँदर धपाएर बस्छु”, उहाँले भन्नुभयो । अहिले गाउँमै बाँदर पस्न थालेर हैरानै पारेकोे उहाँको गुनासो छ । परिवर्तन गाउँपालिका–६ ओह गाउँमा रहेको भिरखामे पहरामा धेरै वर्षात् भएपछि बाँदर बास बस्नका लागि उक्त भिरमा आउने गरेको स्थानीयवासीको भनाइ छ ।
२०७८ भदौ ५ गते शनिवार १७:०८ बजे प्रकाशित