"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

काठमाडौँ उपत्यकामा पुन: मेलम्चीको पानी आउन तीन महीना लाग्ने

काठमाडौँ । काठमाडौँ उपत्यकामा पुन:मेलम्चीको पानी ल्याउन कम्तीमा तीन महीना लाग्ने देखिएको छ । मेलम्ची खानेपानी विकास समितिले स्थानीय तह र सङ्घका सम्बन्धित निकायसँगको समन्वयमा असोजको अन्तिमसम्ममा पानी पुन:सुन्दरीजल ल्याउने लक्ष्य लिएर मर्मत अघि बढाइने भएको छ ।

सो आयोजनास्थलसम्म पुग्न सडक, पुललगायतका संरचनामा क्षति पुगेको छ भने निर्माणस्थलका कतिपय संरचनामा समेत क्षति पुगेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । अहिले सडक खुलाएर र बेलिब्रिज राखेर आयोजनास्थलसम्म पुग्न सकेमा अस्थायी बाँधबाट भए पनि पानी ल्याउने लक्ष्य लिइएको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । उहाँका अनुसार वर्षाभरमा नै प्रवेशमार्ग र पुल बनाउन सकियो भने अबका तीन महीनामा पानी सुन्दरीजल झार्न सकिनेछ ।

अझै पनि वर्षा कति लम्बिन्छ वा वर्षाले संरचनामा अझै कति क्षति गर्छ भन्ने यकिन नभएकाले कति समयमा पुन: पानी ल्याउन सकिन्छ भनी यकिन नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “त्यसका लागि हामीले सरोकार राख्ने निकायका प्रतिनिधिसँग छलफल गरिरहेका छौँ ।”

भदौसम्ममा हेडवर्कसम्म पुग्न सकेमा असोजमा सुरुङको लेदो सफा गर्न सकिने समितिले जनाएको छ । सुधारका काम लामो समय लागेमा पानी सुन्दरीजल आउने अवधि अझै लम्बिन सक्ने देखिएको छ । उहाँका अनुसार वर्षा भइरहँदा तत्काल खुलाइएका सडक पुन:अवरुद्ध हुने सम्भावना हुन्छ ।

२०७८ असार २५ गते शुक्रवार १७:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु