"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

कतार पुगेका खत्रीले आफ्नो गाउँलाई दिए दुई लाखभन्दा बढीको स्वास्थ्य सामग्री

कोरोना महामारीले गाउँघर आक्रान्त भएको अवस्थामा कतारमा व्यावसायिक कार्य गर्दै आएका सर्लाही, लालबन्दीका एक नेपालीले दुई लाख ११ हजार ७०० रुपैयाँ बराबरको स्वास्थ्य सामग्री आफ्नो गाउँमा उपलब्ध गराएका छन् ।

हाल कतारमा रहेका लालबन्दी–९ का दिनेश खत्री (पौडेल)ले प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दी र मातहतका स्वास्थ्य चौकीमा कार्यरत ‘फ्रन्ट लाइन’का कर्मचारी, सेवाग्राही समेतको जीवन रक्षार्थ उक्त परिमाणका स्वास्थ्य सामग्री सहयोगस्वरुप उपलब्ध गराएका हुन् ।

ती सामग्री वडा अध्यक्ष गोपालप्रसाद घिमिरे र सहयोगदाता खत्रीकै परिवारमार्फत स्वास्थ केन्द्र प्रमुख डा. प्रगति राना लगायतलाई शनिबार हस्तान्तरण गरिएको छ । वडाअध्यक्ष घिमिरेका अनुसार हस्तान्तरण गरिएका सामग्रीमा पीपीइ–३० थान, गाउन–३० थान, केएन ९५ मास्क २०० पिस, थर्मल गन–१० पिस, सर्जिकल मास्क चार हजार पिस, क्लोरिन पाउडर १० केजी, टप ग्लोब्स ३० प्याकेट, पल्स अक्सोमिटर १० थान र सेनिटाइजर १०० लिटर छ ।

सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष घिमिरेले काम, व्यवसायको सिलसिलामा जहाँ रहे पनि आफ्नो गाउँघरलाई सम्झिएर विपद्को समयमा यसरी सहयोग उपलब्ध गराउनु मानवताकै उत्कृष्ट नमूना रहेको बताए । उनले सहयोगदाता खत्रीले गत वर्ष पनि नगरपालिकालाई दुई लाख पाँच हजार रुपैयाँ बराबरको सहयोग गरेको स्मरण गर्दै आभार प्रकट गरे ।

‘उपलब्ध सहयोगले कोरोनाविरुद्ध लडिरहेका हाम्रा फ्रन्ट लाइनका योद्धालाई ठुलो राहत मिलेको छ,’ उनले भने, ‘गाउँकै एउटा युवाले आफ्नो गाउँलाई सम्झिएर यसरी सहयोग गर्दा हामीलाई पनि ठुलो हौसला मिलेको छ ।’

हस्तान्तरण कार्यक्रममा वडा नम्बर ७ का वडाध्यक्ष सुरेन्द्र कुमार न्यौपाने, कोभिड १९ ¥यापिड रेस्पोन्स टिम सर्लाहीका सदस्य मनोज बख्रेल, लालबन्दी स्वास्थ्य शाखाका सुरेन्द्र खतिवडा, स्वास्थ्य केन्द्रका डा. प्रगति राना, डा. हर्ष नारायण साह लगायत उपस्थित थिए ।

दानवीर दाता खत्रीका तर्फबाट उनी श्रीमती जुना पौडेल खत्री, बुवा कमल बहादुर खत्री, आमा चन्द्रमाया खत्री लगायत पनि सो अवसरमा सहभागी थिए ।

२०७८ जेठ ९ गते आइतवार ११:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु