मूल्यवृद्धिको चर्काे मारमा उपभोक्ता, तोरीको तेल प्रतिलिटरमा ५० रुपियाँसम्म महँगो

काठमाडौं । तेल र दाल मात्र नभई तरकारी, चामल, फलफूलको पनि मूल्य चर्को छ ।
यीबाहेक अरू उपभोग्य वस्तु, निर्माण सामग्रीलगायतको मूल्य पनि धेरै बढेको तीन वर्षयता तेलको भाउ एक सय रुपियाँसम्म महँगिएको छ । यसबीचमा सबैभन्दा बढी भटमास (सोयाबिन) र सूर्यमुखी (सनफ्लावर) तेलको भाउ एक सय रुपियाँसम्म महँगो भएको हो । २०७५ साल माघमा भटमास र सूर्यमुखी तेलको मूल्य प्रतिलिटरको क्रमशः १३५ र १४५ रुपियाँ रहेकोमा २०७७ माघमा २३५ रुपियाँसम्म पुगेको पाइएको छ ।
यस्तै पछिल्लो पटक तोरीको तेल पनि प्रतिलिटरमा ५० रुपियाँसम्म महँगो भएको छ । नेपाल खुद्रा व्यापार सङ्घले २०७५, २०७६ र २०७७ सालमा सार्वजानिक गरेका तथ्याङ्कमध्ये हरेक वर्षको माघको तथ्याङ्कलाई आधार मानेर विश्लेषण गर्दा भटमास तेलको प्रतिलिटरको भाउ एक सय रुपियाँसम्म बढेको पाइएको हो । सङ्घका अनुसार ती वर्षमा माघ महिनाको भटमास तेलको भाउ क्रमशः १३५, १६० र २३५ रुपियाँ रहेको छ । यस्तै सोही अवधिमा सनफ्लावर तेलको भाउ क्रमशः १४५, १६० र २३५ रुपियाँमा कारोबार भएको पाइएको छ ।
२०७७ चैत १ गते आइतवार १२:४१ बजे प्रकाशित