आजदेखि देशैभर कोरोनाबिरुद्धको खोप लाउन शुरु, तीन महिनाभित्र सबै नेपालीलाई निशु्ल्क खोप लगाइने प्रधानमन्त्री ओलीकाे प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अबका तीन महिनाभित्र सबै नेपालीले निशुल्क कोरोनाविरूद्ध खोप पाउने बताएका छन्। बुधबार प्रधानमन्त्री निवास बालुवाटारबाट कोरोना खोप अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले तीन महिनाभित्र सबै नेपालीले खोप पाइसक्ने बताएका छन्।
कोरोना भाइरस विश्व अर्थतन्त्र र सिंगो मानव जातिविरुद्ध भएकाले खोपको उपलब्धता पनि सबैको पहुँचमा हुनुपर्ने प्रधानमन्त्री ओलीले बताए ।
प्रधानमन्त्री ओलीले सबै नेपाली नागरिकलाई कोरोना खोप निस्शुल्क उपलब्ध गराइने बताए । ‘सक्ने देशहरुले नसक्नेहरुलाई निस्शुल्क रुपमा कोरोना खोप उपलब्ध गराएर सिंगो मानव जातिको कल्याण गर्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले स्वास्थ्य संवेदनशीलताको आधारमा खोप लगाइँदै जाने प्रतिबद्धता पनि जनाए ।
साथै उनले खोप अभियान र कोरोना भाइरस रोकथाम र नियन्त्रणमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयंसेवीलगायतलाई पनि धन्यवाद दिए । कोरोनाविरुद्धको खोप अभियानमा सिंगो राष्ट्र नै एकजुट भएर लागेको पनि उनले बताए ।
२०७७ माघ १४ गते बुधवार ११:५७ बजे प्रकाशित