उपत्यकामा २४ सय २ जना सहित देशैभर ४ हजार ३९२ कोरोना पुष्टि, २१ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा देशभर ४ हजार ३९२ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख २६ हजार १३७ पुगेको उनले बताए।
आज कोरोनाबाट ३ हजार ५२२ निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ८८ हजार ४० पुगेको छ।
अहिले देशका विभिन्न अस्पताल तथा होम आइसोलेसनमा ३७ हजार ३८२ सक्रिय संक्रमित छन्।
कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ सय १५ पुगेको छ। आज मात्र २१ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ।
यस दिन १६ हजार ५३१ जनाको पिसिआर परीक्षण गरिएको हो।
त्यस्तै काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार ४ सय २ कोरोना संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ७ सय ८४, ललितपुरमा ३ सय ७४ र भक्तपुरमा २ सय ४४ जना संक्रमित देखिएका हुन् ।
२०७७ असोज ३० गते शुक्रवार १६:५७ बजे प्रकाशित