"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

अत्यधिक महँगीको मारमा उपभोक्ता, सर्वसाधारणको भान्सामा तरकारी पाक्नै गाह्रो

काठमाडौं । खोजेको र रोजेको तरकारी पाउन मुस्किल हुन थालेको छ । कोरोना कहरबीच नै चाडपर्वसमेत सुरु हुँदा उपभोक्ता रोजेको तरकारी नपाउने र पाइहाल्दा पनि अत्यधिक महँगीको मारमा छन् ।

कीर्तिपुर घर बताउने मीना रिजालले मुडेको राम्रो आलु खोज्न धेरै पसल पुगेको तर नपाएपछि साना आलु नै धार्नीको २३० रुपियाँमा किन्न बाध्य भएको बताए। आलु मात्र होइन अरू तरकारी पनि छोइसक्नु छैन । यस्तै भइरहने हो भने दशैँमा समेत सर्वसाधारणको भान्सामा तरकारी पाक्न गाह्रो हुने रिजालले गुनासो गरे।

व्यापारी भने अहिले कोरोनाका कारण आलु उत्पादन नै कम भएको र भएका ठाउँमा पनि किसानले महँगो भन्ने गरेकाले महँगिएको दाबी गर्छन् । कालीमाटी फलफूल तथा तरकारी व्यापारिक संस्थाका अध्यक्ष एवं थोक व्यापारी गीताप्रसाद आचार्यले आलुको पकेट क्षेत्र पाँचखालमा यो वर्ष वर्षाले गर्दा उत्पादन ढिला हुने हुँदा यसको मार उपभोक्तामा परेको बताए । पाँचखालको आलु उत्पादन भएर बजारमा आउन अझै एक महिना लाग्ने भएकाले आलुको भाउ अझै महँगो हुनसक्ने उनको भनाइ छ ।

आचार्यका अनुसार हरियो तरकारी पनि गत वर्षभन्दा महँगिएको छ । कालीमाटीमा आउने तरकारी गोलभेँडा, स्थानीय काउली, मूला तराई हुँदै भारतसमेत निर्यात भएको र त्यसले गर्दा तरकारीको मूल्य बढेको उनको भनाइ छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार बजारमा तरकारीको आगमन विगतभन्दा झन्डै आधा कम भएकाले भाउ महँगो भएको हो । समितिका अनुसार गत वर्ष यही बेलामा दैनिक ७५० देखि ८०० टन तरकारी आउने गरेकामा अहिले दैनिक ३४० देखि ४५० टनसम्म तरकारी आएको छ ।

समितिका प्रवक्ता विनय श्रेष्ठले मागअनुसार आपूर्ति नभएपछि भाउ बढेको बताए । विशेष गरी आलु, गोलभेँडा, स्थानीय काउली, घिउ सिमी, लौकालगायतका तरकारीको भाउ महँगिएको छ ।

२०७७ असोज २९ गते बिहीवार ०८:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु