"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

विभागको अनुमति विना पानीको मूल्य आफूखुसी बढाएर बिक्री, अनुमगन पर्याप्त र प्रभावकारी नभएको उपभोक्ता अधिकारकर्मीको आरोप

काठमाडौं । खानेपानी उद्योग तथा व्यापारीले पछिल्लो समय जार र बोतलको पानीको मूल्य आफूखुसी बढाएर बिक्री गर्न थालेका छन् ।

पानी उद्योगले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुमति लिएर वाणिज्यले तोकेको अधिकतम बिक्री मूल्य (एमआरपी) का आधारमा मूल्य बढाएको दाबी गरेका छन् ।

तर वाणिज्य विभागले भने पानीको एमआरपी तोके पनि त्यो कार्यान्वयन गर्ने विषयमा टुङ्गो नलागेको जनाएको छ । विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले एमआरपी कार्यान्वयनको विषयमा विभागले कुनै पनि उद्योगीलाई स्वीकृति नदिएको र आफूखुसी मूल्य बढाउने उद्योगीलाई कारबाही हुने बताए । उनले भने, ‘व्यापारीले आफूखुसी मूल्य बढाएको भन्ने गुनासो विभागमा पनि आउन थालेको छ । आफूखुसी मूल्य बढाउने व्यापारीलाई विभागले अनुगमन गरेर कारबाही गर्छ ।’

विभागका अनुसार पछिल्ला दिनमा जारको पानीमा गुणस्तर सुधार गर्नुपर्ने, महँगो मूल्यमा बेच्ने गरेको, पानीमा कीरा, लेउ भेटिने गरेको, जारको बिर्कोबाट पानी चुहिने र फोहोर जारमा पानी बेच्ने गरेकोलगायतका गुनासा आउन थालेका छन् ।

पछिल्लो समय विभागले दशैँ, तिहारलगायत चाडबाड लक्षित बजार अनुगमन गरिरहेको छ । जसमा खाद्यान्न, लत्ताकपडाजस्ता क्षेत्रमा विभागको अनुगमन केन्द्रित छ । दैनिक तीनदेखि पाँचवटा सम्म अनुगमन टोली बजार अनुगमनमा खटिने र औसत दैनिक १८–२० व्यावसायिक फार्ममा अनुगमन भइरहेको भए पनि क्षेत्रगत रूपमा विभागको अनुमगन पर्याप्त र प्रभावकारी नभएको उपभोक्ता अधिकारकर्मीको आरोप छ ।

उपभोक्ताकर्मीहरुले उपभोक्ता संरक्षण विभागको बजार अनुगमनले उपभोक्तालाई राहत दिनेभन्दा पनि बजारको अवलोकन गरेर राजस्व सङ्कलन गर्ने काम भएको आरोप लगाएका छन् ।

पिउने पानीका रूपमा बिक्री गरिने जार र बोतलको पानीको गुणस्तर यति खत्तम छ कि भनी साध्यै छैन । उपभोक्ताकर्मीले सबै कुरा विभागलाई थाहा भए पनि कारबाही नगरी उल्टै उद्योगीकै पक्षमा एमआरपी तोकिएको दाबी गरे ।

२०७७ असोज २४ गते शनिवार ०८:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु